News

 खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १८ करोड अकुत सम्पत्ति आर्जेको आरोप 

 खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १८ करोड अकुत सम्पत्ति आर्जेको आरोप 

काठमाडौं । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले साढे १८ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो।

 

खड्काले गैरकानुनी रूपमा आर्जन गरेको चलअचल सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ । करिब १५ महिना लगाएर अनुसन्धान गरेको आयोगले खड्काले गैरकानुनी रुपमा अुकत सम्पत्ति आर्जन गरेको ठहर गर्दै मुद्दा दायर गरेको हो। गत वर्ष साउन २ गते आयल निगमको जग्गा खरिद भ्रष्टाचारको विषयमा अनुसन्धानमूलक समाचार प्रकाशित भएको थियो।

 

त्यसपछि संसद्को सार्वजनिक लेखा समितिलगायतका विभिन्न संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले छानबिन सुरु गरेका थिए। सार्वजनिक लेखा समितिले जग्गा खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो।

 

अनुसन्धानपछि अख्तियारले १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजायको माग राखेर आरोपपत्र दायर गरेको हो।

 

खड्का सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् समग्र आय र व्ययको विश्लेषण गर्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। ‘अन्य व्यक्तिको नाममा लुकाई राखेको सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको माग दाबी गरिएको छ,’ दंगालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

खड्काले जग्गा खरिदमात्र नभएर निगममा रहँदा ग्यास उद्योग, ग्यास ढुवानी गर्ने बुलेट, पेट्रोल पम्प, पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिँदा पनि मोटो रकम लिएर अनियमितता गरेको आरोप लागेको थियो। खड्काविरुद्ध मुद्दा दायर गरिए पनि जग्गा खरिद भ्रष्टाचारको विषयमा अख्तियार मौन देखिएको छ। जग्गा खरिदलगायतका अन्य पक्षमा अनुसन्धान जारी रहेकाले अहिले अकुत सम्पत्तिमा मात्रै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दंगालले बताए।

 

खड्का सार्वजनिक सेवामा प्रवेश गरेदेखि विभिन्न शीर्षकमा गरेको खर्च तथा लगानी २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रुपैयाँ देखिन आएको अख्तियारले जनाएको छ। लगानीमा खड्काको स्रोत खुलेको आम्दानी आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रुपैयाँ देखिए पनि १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ रुपैयाँ खर्च तथा लगानीको स्रोत नखुलेपछि मुद्दा दायर गरको अख्तियारको दाबी छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

गोपाल खड्का

विशेष