विदेश

रेल चढेर श्रीमतीसँगै फेरि बेइजिङ पुगे उत्तर कोरियाली शासक किम

रेल चढेर श्रीमतीसँगै फेरि बेइजिङ पुगे उत्तर कोरियाली शासक किम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । चीनका राष्ट्रपति  सि जिन पिङको निमन्त्रणामा उन चीन पुगेका हुन् । 

 

श्रीमती रि सोल जुसँगै नेता किम मंगलबार बिहान बख्तरबन्द रेलमा बेइजिङ पुगेका हुन् । उनी कडा सुरक्षाका साथ बेइजिङ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तीन दिने भ्रमणका क्रममा अमेरिकासँग हुने वार्ताको मस्यौदामाथि छलफल हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। यसअघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटअघि  नेता किमले बेइजिङमा राष्ट्रपति सि जिनपिङसँग छलफल गरेका थिए।  

 

अमेरिकाले समेत सम्मेलनअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय इनसँग भेटेर रणनीति तय गर्ने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ।  उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन प्रमुख कुटनीतिक साझेदार समेत हो। अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिए पनि समय र स्थान तय भइसकेको छैन।

 

त्यस्तै कोरियाले आफूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध छुकुवा गर्नका लागि पटकपटक आग्रह गर्दै आएको छ। अघिल्लो पटक भएको वार्ताका क्रममा भएका प्रतिबद्धताहरूप्रति अमेरिकाले चासो नदेखाएको किमको आरोप छ । यसअघि नयाँ वर्षको सन्देश जारी गर्दै किमले अमेरिका र उत्तर कोरियाका बीचमा भएका प्रतिबद्धतामा कुनै प्रगति नभए निःशस्त्रीकरणमा पनि प्रगति नहुने चेतावनी दिएको थियो ।

किम जोङ उन

विशेष