News प्रदेश ७

बैतडीको सतबाँझमा ३ वर्षपछि हिउँ

बैतडीको सतबाँझमा ३ वर्षपछि हिउँ

बैतडी । तीन वर्षपछिको हिमपातले सतबाँझ सुख्खा फलफूल केन्द्र सेताम्मे भएको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्म बैतडीको सतबाँझ, खोड्पे, श्रीभावरलगायत उच्च पहाडी भेगमा हिमपात भएको हो । 

 

हिमपातले सतबाँझ फलफूल केन्द्रमा लगाइएका स्याउ, ओखर, जैतुन, कागजी बदाम, आरुलगायतका सात हजार हिउँदे फलफूललाई फाइदा पुगेको सतबाँझ सुख्खा फलफूल केन्द्रले जानकारी दिएको छ । तीन इन्चजति हिउँ परेको छ । हिमपातले सतबाँझ फलफूल केन्द्रमा रोपिएका स्याउलगायत जैतुन, ओखर, कागजी बदामका सात हजार बोटलाई निकै फाइदा पुगेको छ, प्राविधिक खड्काले भने । 

 

२९ हेक्टर क्षेत्रफलमा रहेको सतबाँझ फलफूल केन्द्रले पछिल्लो समय हिउँदे फलफूलको नर्सरी उत्पादन शुरु गरेको उनले बताए । २०१९ सालमा नेपाल सरकारको स्वामित्वमा रहने गरी २९ हेक्टर क्षेत्रफलमा फलफूल केन्द्र स्थापना भएको थियो ।

 

जलवायु परिवर्तनको असरले पछिल्लो समय सतबाँझमा पर्याप्त हिमपात नहुँदा चिस्यान अभावले पुराना छ हजार स्याउका बोट लोप भएका छन् । स्याउ फल्ने परिचयबाट चिनिएको सतबाँझ फलफूल केन्द्रले अहिले तामक्रम सुहाउँदो फुजी, गाला र रेडग्रेड स्टिम प्रजातिका एक सय स्याउका बोट रोपेको छ । हिमपातले नयाँ स्याउका बोटलाई फाइदा पुगेको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए । 

 

नयाँ प्रजातिका स्याउ डेढ मिटरको दूरीमा रोपिएका र तीन वर्षमा फल्ने विश्वास गरिएको छ । एउटा बोटले १२ देखि १५ किलो उत्पादन हुने अनुमान गरिएको उनले बताए । वार्षिक ४० टन उत्पादन हुने स्याउ जलवायु परिवर्तनका कारण बोट नै हराउन थालेपछि नयाँ प्रजातिका स्याउसँगै अन्य हिउँदे फलफूल खेती शुरु गरिएको केन्द्रले जनाएको छ ।

 

स्याउ फल्न वर्षमा १६ सय घण्टा सात डिग्री सेल्सियसभन्दा मुनिको तापक्रम चाहिन्छ । पछिल्ला वर्ष हिमपात कम हुँदै जाँदा वर्षमा पाँच सय घण्टा पनि मुस्किलले ७ डिग्री सेल्सियस तापक्रम पुग्ने गरेको केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए । यो वर्ष हिमपात भएकाले चिस्यान बढ्न सक्ने बताइएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो । 

 

हिउँ हिमपात

विशेष