News

पानीजहाज सञ्चालन प्रक्रिया अघि बढ्यो, फागुनमा भारतीय टोली आउने

पानीजहाज सञ्चालन प्रक्रिया अघि बढ्यो, फागुनमा भारतीय टोली आउने

काठमाडौं । नेपालका ठूला नदी कोसी र गण्डकीमा पानी जहाज सञ्चालन गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । नेपालमा पानी जहान सञ्चालनसम्बन्धी छलफल गर्न आगामी फागुन तेस्रो साता भारतीय टोली नेपाल आउन लागेको जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेलबासेले बताए ।

 

उनले भने, ‘भारतीय टोली मार्चमा नेपाल आउन लागेको छ ।’ कसको नेतृत्वमा कति जनाको टोली आउने भन्ने अहिले यकिन नभएको सहसचिव वेलबासेले राजधानीलाई बताए । उनका अनुसार भारतीय टोलीसँग पानी जहाजको प्राविधिक पक्षमा केन्द्रित रहेर छलफल गरिनेछ ।

 

नेपालमा पानी जहाज ऐन, २०२७ विद्यमान छ । नेपालले त्यही ऐनको आधारमा पानी जहाजसम्बन्धी प्रक्रिया अघि बढाएको छ । पानी जहाजसम्बन्धी रजिस्टे«सन गर्ने र कार्यालय खोल्नेलगायतका काम अघि बढेको छ भने भारतीय पक्षले गंगा नदीमा डीपीआर तयार गरिरहेको छ ।

 

हिन्द महासागरबाट भारतीय सीमा हुँदै नेपालका ठूला नदीहरूमा पानी जहाज सञ्चालन गर्न सम्भावना अध्ययनको छलफल यसअघि नै सुरु भइसकेको छ । सो छलफलमा नेपालका ठूला नदीहरूमा पानी जहाज सञ्चालन गर्न प्राविधिक पक्ष, आर्थिक पक्षलगायतका विभिन्न विषयमा छलफल सुरु भएको थियो ।

 

यसअघि भएको छलफलमा नेपाली टोलीतर्फ सहसचिव माधव वेलबासे र भारतीयतर्फबाट जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डेले सहभागी जनाएका थिए । सो छलफलमा कोसी र गण्डकी बढी सम्भावना भएका नदी भएको भारतीय टोलीले जनाएको थियो । तर, अहिले नारायणी पनि उत्तिकै सम्भावना रहेको नदीका रूपमा हेरिएको छ । नेपालले यसअघि नारायणी पनि प्रचूर सम्भावना भएको नदीका रूपमा सिफारिस गरेको थियो ।

 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा हिन्द महासागरबाट नेपालमा पानी जहाज र रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नेपालले पानी जहाज सञ्चालन गर्न लागेको हो । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

पानीजहाज

विशेष