News

माइनस २० डिग्रीमा ड्युटी गर्दै प्रहरी, जाडोमा टेन्डर हाल्यो गर्मीमा आउँछ ज्याकेट

माइनस २० डिग्रीमा ड्युटी गर्दै प्रहरी, जाडोमा टेन्डर हाल्यो गर्मीमा आउँछ ज्याकेट

काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

 

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ । 

 

प्रहरीको प्रबन्ध शाखाका प्रमुख डिआइजी नारायणसिंह खड्काले १५ हजार पाँच सय ज्याकेटसहित आवश्यक अन्य पोसाक, जुत्तालगायतका सामान खरिदका लागि १८ पुसमा टेन्डर आह्वान गरिएको बताए । उनका अनुसार टेन्डर प्रक्रिया पूरा हुन कम्तीमा दुई महिना लाग्छ । एक महिनाको समय दिएर टेन्डर आह्वान गरेकाले माघ दोस्रो सातासम्म टेन्डर हाल्ने समय हुनेछ । त्यसपछि आशयपत्र माग्ने तथा टेन्डरको निर्णय गर्न थप एक महिना लाग्नेछ । टेन्डर परेपछि मात्र ठेकेदार कम्पनीले ज्याकेट सिलाउन सुरु गर्ने भएकाले चैतअघि प्रहरीले ज्याकेट पाउने सम्भावना कम छ । 

 

प्रशासन विभाग र प्रबन्ध शाखा लामो समय नेतृत्वविहीन भएकाले ज्याकेट खरिदमा ढिलाइ भएको हो । दुवै निकायमा प्रमुख आएपछि खरिद प्रक्रिया अघि बढाइएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विगतमा समयमै ज्याकेट खरिद हुन नसक्दा अहिले समस्या देखिएको बताए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

प्रहरी ज्याकेट

विशेष