विदेश

अस्ट्रेलियामा अत्याधिक गर्मी, घर बाहिर नजान आह्वान

अस्ट्रेलियामा अत्याधिक गर्मी, घर बाहिर नजान आह्वान

एजेन्सी । अस्ट्रेलियाको तापक्रम अत्याधिक बढेपछि सरकारले अतिआवश्कय कामबाहेक बाहिर नजान आह्वान गरेको छ। अत्याधिक गर्मीका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै यहाँको सरकारले सर्वसाधारणलाई आवश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरेको हो।

 

गर्मी बढेपछि ओजन तह थप पातलिने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै यहाँका सरकारी डाक्टरहरूले सर्वसाधारणलाई अनावश्यक काममा बाहिर नहिँड्न सचेत गराएका हुन्। न्यूसाउथ वेल्सको वातावरणीय स्वास्थ्यका डाइरेक्टर रिचार्ड ब्रुमले घर बाहिर एकदम थोरै समय मात्र बिताउन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘घरभित्रको तुलनामा बाहिर ओजनको स्तर बढी छ । खासगरी मध्याह्न र साँझ झन् बढ्छ । त्यसैले एकदमै कम समय मात्र सडकमा निस्किनुस् । यसो गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुन्छ ।’

 

अन्य दिनको तुलनामा बुधबार न्यूसाउथ वेल्समा अत्यधिक गर्मी छ । न्यूसाउथ वेल्समा अधिकतम तापक्रम ४८ दशमलव २ डिग्री मापन गरिएको छ । शुक्रबार सिड्नीको शहरी क्षेत्रमा तापक्रम बढेर ३४ डिग्री पुग्ने पूर्वानुमान गरिएको छ । पश्चिम सिड्नीमा भने ४५ डिग्री तापक्रम रहने अनुमान छ । वेदर जोनका एक वरिष्ठ मौसम वैज्ञानिक ज्याकब क्रोनजेले अहिलेको स्थिति हेर्दा तापक्रम ५० डिग्री पुगेमा पनि आश्चर्य मान्नु नपर्ने बताए।

 

गर्मी र प्रदूषणका कारण बिरामी परेका मानिसहरुको उपचार गर्न सहज होस् भनेर सन् २०११ को तुलनामा यस वर्ष अस्पतालहरुमा १४ प्रतिशतले आकस्मिक कक्षहरु थप गरिएको बताइएको छ । त्यस्तै गर्मीका कारण स्वासप्रश्वासका विरामीलाई बढी जोखिम हुने भन्दै सतर्क गराइएको छ । ओजोनको प्रभावका कारण फोक्सोमा छिटो असर गर्ने भएकाले यसो गरिएको डाक्टरहरूले बताएका छन् ।

अस्ट्रेलिया गर्मी

विशेष