News

ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार 

ड्युटीमा खटिएका प्रहरी हवल्दारमाथि गोली प्रहार 

राजविराज । सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ । खड्ग नगरपालिकाको बिसनपुर चौकमा ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । 

 

ढाडमा गोली लागेका हवल्दार यादवको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगर पठाइएको एसपी विष्टले बताए । घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा समेत भेटिएको छ । यसैबिच आफूलाई प्रगतिशील तराई मुक्ति मोर्चाका सैन्य प्रमुख बताउने निशान्तले टेलिफोन सम्पर्क गरी आफूहरूको सङ्गठनले कारबाही स्वरूप प्रहरीमाथि गोली प्रहार गरेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।

 

घटनापछि सप्तरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा लामो समयपछि सशस्त्र समूहबाट प्रहरीमाथि आक्रमण भएको हो ।

गोली प्रहार सप्तरी

विशेष