News Breaking News

सिन्धुपाल्चोक दुर्घटना : क्षमता भन्दा दोब्बर यात्रु बोकिएकाे खुलासा!

सिन्धुपाल्चोक दुर्घटना : क्षमता भन्दा दोब्बर यात्रु बोकिएकाे खुलासा!

काठमाडाैँ - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा क्षमताको भन्दा दोब्बर यात्रु बोकिएको अनुमान गरिएको छ। प्रहरीका अनुसार ८० जनाभन्दा बढी यात्रु रहेको प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको छ । ३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । शुक्रबार बिहान ९ बजेतिर  दुर्घटना भएको हो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो।

काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार यतिबेला धुलिखेल अस्पतालमा ४५ जना यात्रुको उपचार भइरहेको छ भने शिर मेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालबाट २ जना बिरामीलाई न्युरो अस्पतालमा रिफर गरिएको छ । त्यसैगरी काठमाडौँको ट्रमा सेन्टरमा १३ जनाको उपचार भइरहेको छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार ५ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिसकेको छैन ।  घाइतेहरुको उपचार जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।बसमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षकले बताएका छन् ।

विशेष