चिनियाँ राष्ट्रपतिको बहुप्रतीक्षित भ्रमण शनिबारबाट, केके छन् एजेन्डा ?
काठमाडौँ - चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतीक्षित नेपाल भ्रमण शनिबारबाट हुने भएको छ । आज दुवै देशका विदेश मन्त्रालयले सीको भ्रमणतालिका सार्वजनिक गरेका छन् । नेपाल भ्रमणका क्रममा सीले उच्चस्तरीय राजनीतिक भेटघाटका गर्नुका साथै दुई देशबीच महत्वपूर्ण समझदारीमा हस्ताक्षर समेत गरिनेछ ।
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदनसम्बन्धी सम्झौतामा पनि सीकै भ्रमणताका हस्ताक्षर हुने बताइएको छ । प्राविधिक विश्वविद्यालय, सुरुङमार्ग र सडक निर्माणसम्बन्धी परियोजनामा पनि उल्लेख्य सम्झौता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई त्रिदेशीय सम्बन्धका दृष्टिले समेत महत्वपूर्ण मानिएको छ । खासगरी नेपालले अघि सारेको र चीन सकारात्मक रहँदै आएको त्रिदेशीय साझेदारीको विषयले यसपालि मूर्त रुप पाउन सक्ने एकथरीको बुझाइ छ । दक्षिण एसिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी भारत हुँदै नेपाल आउने भएकाले त्रिदेशीय साझेदारीको विषयले गति पाउने अपेक्षा गरिएको हो ।
सी आइतबार स्वदेश फर्किनेछन् ।