पत्रकार विष्णु कल्पितलाई ज्यान मार्ने धम्की

पत्रकार विष्णु कल्पितलाई ज्यान मार्ने धम्की

पत्रकार विष्णु कल्पितमाथि नकाव लगाएर आएर दुईजनाले दिनदहाडै मार्ने धम्की दिएका छन् । कल्पितको नयाँबानेश्वर थापागाउँमा रहेको प्रोडक्सन कार्यालयमा आएका उनीहरुले आफूहरु मन्त्रीको मान्छे भएको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् । पत्रकार कल्पितका अनुसार उनीहरु हातहतियार सहित आएका थिए । कार्यालयमा रहेको सीसी टीभी फुटेजमा समेत नकावधारीको दृश्य कैद भएको छ । पत्रकार कल्पित भन्छन– ‘उनीहरु योजनावद्ध ढंगबाट मलाई मार्ने उद्देश्यले आएका थिए । ती आक्रमणकारी म कसैलाई चिन्दिन । ७, ८ वटा ज्यान मुद्दा लागेर पनि आफूहरुलाई कसैले केही गर्न नसकेको भन्दै धम्क्याएका थिए ।’

‘एकदिन अगाडि टोलमा झगडा भएको थियो । म पनि पुगेको थिएँ । खोइ कसले खबर गरेछ, पुलिस त्यहाँ आइपुग्यो ।’ भोलिपल्ट मलाई मार्ने भन्दै आएका ती नकावधारीले भन्दै थिए– ‘हाम्रो टोलमा बसेर पत्रकार भएर दादागिरी गर्ने । हामी यो टोलका डन हौं । हाम्रा पनि मान्छे प्रहरी छन् । यसलाई बाँकी राख्दैनौं  भन्दै मेरो कोठामा गएर आतंक मच्चाए । मैले गर्दै नगरेको कामको आरोप उनीहरुले लगाएका छन् । हतियारसहित आएका उनीहरुका कारण मेरा दुई छोराको बालमनोविज्ञानमा असर परेको छ । मैले आफूलाई असुरक्षित महसूस गरेको छु ।’

यो घटनापछि किटानीसहित आफूले नयाँबानेश्वर प्रहरी वृत्तमा जाहेरी दिएपनि चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारी कारण देखाएर अनुसन्धानमा ढिलाई भएको कल्पितले बताए । 
नेपाल आजसंगको भेटमा उनले आफू र आफ्नो जीउधनको रक्षाका लागि सरकारसंग आग्रह गरेका छन् ।  नकावधारीहरुले पत्रकार कल्पितको घर पुगेको बेला उनी भने घरबाहिर थिए । 

संम्बधित खबर

विशेष