चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल र सडक पूर्वाधार नेपालको प्राथमिकता
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि काठमाडौं आउँदै हुनुहुन्छ । २००१ मा चिनियाँ प्रधानमन्त्री झु रोंगजी तात्कालिन सरकारको निमन्त्रणामा काठमाडौं आउनु भएको थियो । १९ वर्षपछि उच्च चिनियाँ राजनीतिक नेतृत्वको यो नै पहिलो भ्रमण हो । राष्ट्रपति सीको स्वागतका लागि नेपाल सरकारले सम्पूर्ण तयारी पूरा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै त्रिभुवन विमानस्थलदेखि सी बस्ने सोल्टी होटलसम्मको निरीक्षण गर्नुभयो ।
राष्ट्रपति सीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका झण्डै १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी सयौंको संख्यामा चिनियाँ जनमुक्ति सेनाका सुरक्षाकर्मी सादा पोसाकमा सक्रिय छन् । राष्ट्रपति सी काठमाडौं झरेपछि उहाँलाई पहिलो तहमा चिनियाँ सेना, दोस्रोमा नेपाली सेना र तेस्रो तहमा नेपाल प्रहरीले सुरक्षा दिनेछ ।
यसैगरी नेपाली सेनाको हेलिकोप्टरले भ्रमण अवधिभर हवाई गस्ती गर्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानेबाहेक सीसंगका सम्पूर्ण राजनीतिक भेटघाट सोल्टी होटलमै हुनेछ । शितल निवास जाँदा हवाई गस्ती हुनेछ । राष्ट्रपति सीको सम्मानमा समकक्षी विद्यादेवी भण्डारीले आजै रात्रीभोजको आयोजना गनुभएको छ ।
चिनियाँ जहाज पार्किङका लागि ६७८ र ७८९ पार्किङ वे छुट्याइएको छ । यो भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान हुने ठाउँ छेउको एरिया हो । ठूला ठूला पखेटा हुने चीनका ती दुई जहाज राख्ने ठाउँमा नेपाल र बाहिरका चारवटा एयर बस र बोइङ अट्ने क्षमता राख्छन् । भ्रमण अवधिभर २४ सै घण्टा विमानस्थल खुल्ला रहने छ । एयरलाइन्सहरुलाई राती धेरै उडान गर्न र दिउँसोको समयमा रनवे जाम नगर्न नागरिक उडड्यन प्राधिकरणले सबै एभिएसन अपरेटर्सलाई निर्देशन दिइसकेको छ ।
त्यस्तै विमानस्थल र सोल्टी होटल आसपासका ठूलाठूला घरमा निशानेवाज सहितको सुरक्षादस्ता राखिएका छन् । जहाँ चीनबाट ल्याइएका हतियार सहित नेपाली सेनाका कमाण्डो तैनाथ छन् । यस्तो अभ्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बखत पनि गरिएको थियो ।
सीको स्वागतका लागि विभिन्न १५ स्थानबाट सांस्कृतिक झाँकी निकाल्ने तयारी छ ।
चिनियाँ राष्ट्रपतिको यो भ्रमण क्रममा सुपुर्दगी सन्धि र भौतिक पूर्वाधारसंग सम्बन्धित सडक, रेल्वे, सुरुङजस्ता नयाँ र ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने सरकारको तयारी छ ।
प्रधानमन्त्री केपी ओली अघिल्लो चीन भ्रमणमा जारी संयुक्त विज्ञप्तिमा त्यसलाई दुई पक्षीय सहमतिमा टुंग्याउने सहमति थियो । २०७१ कात्तिकमा तात्कालीन गृहमन्त्री वामदेव गौतम चीन गएका बेला उहिल्यै सुपुर्दगी सन्धि गर्न चाहेको बताएको थियो । यसपछि परराष्ट्रलेय यसबारे गृहको राय मागेको थियो । चीनले युरोप र अन्यसहित ६० मुलुकसंग यसखाले सन्धि गरिसकेको छ । त्यसो त चीनसंग जल, जमिन र पिलरका विषय पनि सुल्झिएका छैनन् । बोर्डर पिलरहरु अनकन्टारमा छन् ।