News

चिनियाँ राष्टपतिले भने– नेपाललाई भूजडित बनाउन मद्दत गर्छौं (सम्बोधनको पूर्णपाठसहित)

चिनियाँ राष्टपतिले भने– नेपाललाई भूजडित बनाउन मद्दत गर्छौं (सम्बोधनको पूर्णपाठसहित)

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउन सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालको दुईदिन राजकीय भ्रमणमा शनिबार आएका राष्ट्रपति सीले नेपाली समकक्षीले आफ्नो सम्मानमा दिएको रात्रीभोज पछिको प्रत्युत्तर सम्बोधनमा केरुङ – काठमाडौं सुरुङ मार्ग परियोजना अघि बढाउने बताए । चीन र नेपालको सम्बन्धमा समस्या नभएर मित्रता मात्रै रहेको उल्लेख गर्दै उनले भने– ‘हामीले बनाएको योजना पूरा गरेरै छाडछौं । चीनमा पनि यस्तै गरेका छौं ।’ सी ले गरेको सम्बोधन भाषणको पूर्णसार यस्तो छ । 

नमस्ते,
चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें ।

नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।

बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।

चीन र नेपालबीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुबीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको बीचमा केही समस्या छैन, मित्रता मात्र छ ।

सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशवीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ।

हामीले चीन(नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।

मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ ।

भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरुलाई भगिनी शहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशबीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।

भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदानप्रदानका लागि पनि आउनेछन् ।

मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।

वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्वोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।

मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरुसँग हामीले मतेक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरुसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदानप्रदान गर्नेछु ।

म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष्य । यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष्य चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।

हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं ।

अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समद्धि र सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स l

सी जिनपिङ नेपाल

विशेष