News

आज कोजाग्रत पूर्णिमा, सकियो यो वर्षको दशैं

आज कोजाग्रत पूर्णिमा, सकियो यो वर्षको दशैं

यो वर्षको दशैंको अन्तिम अर्थात आज कोजाग्रत पूर्णिमा हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको बडादसैं सोमबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरी समापन हुँदैछ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ ।

यस दिन महालक्ष्मी ‘रातभर को जागेको छ’ भनेर मत्र्यलोक भ्रमण गर्ने र जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो । 

दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा यसैदिन विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादसैं समापन भएको सूचना दिने प्रचलन छ । 

तिहारअन्तर्गत महाक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजाआराधना गरिने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्छ ।  आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ । आजैबाट कात्तिक स्नान र आकाश दीपदान सुरु हुन्छ ।
 

दशैं कोजाग्रत पूर्णिमा

विशेष