मिनी ट्रक दुर्घटना : आधा दर्जन व्यक्तिको अवस्था गम्भीर, दर्जनाै घाइते
उदयपुर – मिनी ट्रक दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। मदन भण्डारी लोकमार्गस्थित उदयपुरको कटारी नगरपालिका ५, भोर्लेमा आज भएकाे दुर्घटनामा परी उनीहरु घाइते भएका हुन्। घाइतेमध्ये आधा दर्जन व्यक्तिको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।
घाइतेमध्ये २२ जना सामान्य र ६ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिका ५ का २७ वर्षीय लक्ष्मण खत्री, कटारी नगरपालिका–६, चुहाडेका २५ वर्षीय सुजाता राई, सोही नगरपालिका–९, लिम्पाटारका ३० वर्षीय प्रकाश सुर्खेती, इटहरी उपमहानगरपालिका–१० की २० वर्षीया विना विक, ३० वर्षीय कल्पना विक, ४४ वर्षीय खेचर विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
खेचर विक र सुजाता राईको हात भाँचिएको छ भने विना, कल्पना, लक्ष्मण, प्रकाशको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए। उनीहरुलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीको भनाई छ। सामान्य घाइतेको कटारीस्थित कटारी अस्पताल, आस्था अस्पताल र मोडल अस्पतालमा उपचार भइरहेको छ।
रिस्कुबाट कटारीतर्फ जाँदै गरेको बा३ख ७३०१ नम्बरको मिनी ट्रक करिब साढे ९ बजे दुर्घनामा परेको थियो। २८ जना यात्रु बोकेको ट्रक ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।