फेरि अर्का सांसद विमानस्थलबाट पक्राउ
धनुषा - राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसद प्रमोदकुमार साहविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेको छ । बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको भन्दै प्रतिनिधिसभाका सांसद साहलाई सोही पक्राउ पूर्जीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टाको अन्तरालमै सांसद साह विमानस्थलबाट पक्राउ परेको विमानस्थलका प्रहरी प्रमुख डिआइजी सूर्य उपाध्यायले बताए। उनका अनुसार पक्राउ परेका सांसद साहलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाइने छ।
सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।
आजै नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।
यसअघि संसद् निवर्तमान सभामुख कृष्णबहादुर महरा र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद् मोहम्मद आफताब आलम पक्राउ परेका थिए।