News

बलात्कार प्रयास आरोप लागेका महराकाे बहस जारी

बलात्कार प्रयास आरोप लागेका महराकाे बहस जारी

काठमाडौँ — बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गरेका छन् ।

मंगलबार प्रहरीले महरालाई थुनामा राखेर अनुसन्धान गर्ने तयारीसहित म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकोमा अहिले म्याद थप सम्बन्धि बहस जारी छ।

सरकारी वकिलले महरालाई १३ थुनामा राख्न माग राखेका छन्। असोज १९ गते पक्राउ परेका महरालाई प्रहरीले सरकारी कार्यालय बन्द हुँदा त्यसको १० दिनपछि मात्रै अदालतमा उपस्थित गराएको हो।

महरालाई नर्भिक अस्पतालबाट महानगरीय प्रहरी वृत सिंहदरबारले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै अदालतमा पेश गरेको हो। बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थपाइएकाे छ।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना भएको दिनमा आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको यसअघि बयान दिएका छन्।

‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो, ‘ तर बयान सकिएको छैन। बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ।’ बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका महरालाई बयानका लागि गत बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो।

सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको उक्त बयान लिएको थियो। जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गरेपछि सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ।

महराको स्वास्थ्य अवस्था खराब भएपछि नर्भिक अस्पतालमा उपचाररत छन्। उनलनाई मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीले उनलाई २३ गते अस्पताल भर्ना गरेको थियो। महराले जवरजस्ती करणीको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा गरिसकेका छन् भने उनको सांसद पद पनि निलम्बनमा परेको छ।

विशेष