निदान अस्पतालमा गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गराएको पुष्टि, सिइओसहित ५ जना पक्राउ
काठमाडौं – ललितपुरस्थित निदान अस्पतालमा गैरकानूनी रुपमा मिर्गौला प्रत्यारोपण गराएको पुष्टि भएपछि सो अस्पतालका सिइओसहित ५ जना पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सिइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता गोविन्द थपालियाले बताए ।
उनीहरुले नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा सो अस्पतालका सिइओ प्रधानसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनका अनुसार पक्राउ पर्नेहरुमा प्रधानसहित रामेछाप दोरम्बा घर भई हाल स्वयम्भू बस्ने शंकरलाल लामा, सप्तरी कन्चनपुर नगरपालिका ९ निवासी हाल भक्तपुरको मध्यपुर ठिमीमा बस्ने कुमार भट्टराई, काठमाडौं महानगरपालिका २९ का डा। राजेश पन्त र ललितपुर कोन्ज्योसोम गाउँपालिका २ का रामचन्द्र आले रहेका छन् ।
लाम मिर्गैला ग्रहण गर्ने व्यक्ति हुन् भने भट्टराई अस्पतालका लिगल अफिसर हुन् । त्यस्तै पन्त सो अस्पतालका डाक्टर हुन् भने आले जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत हुन् ।
पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कार्वाही हुने प्रहरीले जनाएको छ ।