नौबिसे- नागढुंगा सडकमा फेरी सुरु भयो कालोपत्रे !

धादिङ। खाल्डाखुल्डी बनेको नौबिसे–नागढुंगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ। दसैंअघि सवारी रोकी कालोपत्रे सुरु गरे पनि अत्यधिक सवारी जामका कारण स्थगित गरिएको थियो।
सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गर्दै आइरहेका छन्। सडक मर्मतले अत्यधिक सवारी जाम भएर बिरामीको मृत्युसमेत भएपछि दबाबमा परेको निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन भएका थिए। दसैं सकिएलगत्तै मंगलबार मध्यान्नदेखि त्रिभुवन राजपथको थानकोटबाट मर्मतको काम पुनः सुरु गरिएको छ।
मर्मतको काम जतिसक्दो चाँडो सक्न ठेकेदार कम्पनीले पहिलेभन्दा बढी कामदार परिचालन गरेका छन्। सडक विभागले बिहान १० बजेदेखि नै कालोपत्रेको काम सुरु गर्ने भनेर प्रहरी, प्रशासनलाई जानकारी दिएको थियो। टाढाबाट आएका रात्रिबसहरू यही समयमा काठमाडौं प्रवेश गर्दा सवारीको लाम लाग्ने भएका कारण विभागले दिउँसोको समयमा मात्रै काम गर्न अनुरोध गरेको हो।
यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन।
कालोपत्रे नौबिसे- नागढुंगा