सत्ता र शक्तिको दुरुपयोगले बनायो खलनायिका
चीनलाई सम्झँदा तियानमेन चोकको नरसंहार घटनालाई पनि सम्झन्छ विश्वले । यो घटना चीनको पर्यायबाची नाम हुन पुगेको छ । तियानमेन नरसंहारको दोस्रो वर्ष पनि त्यहाँ अर्को महत्वपूर्ण घटना भएको थियो । त्यहाँ के भएको थियो भने चीनका आधुनिक निर्माता माओत्सेतुङकी प्रसिद्ध धर्मपत्नी चियांग चिंगले ७७ वर्षको उमेरमा आत्महत्या गरिन ? किनभने तिनै चियांग चिंग थिइन, जसको निरंकुशता र बर्बरताबाट चीन र चीनका बुद्धिजीवीहरु लगलग कामेका थिए ।
माओको शासनकालमा उनले बारम्बार भन्ने गरेकी थिइन– ‘म त अध्यक्ष माओकी कुकुर हुँ । उहाँले मलाई जुन व्यक्तिलाई टोक्न भन्नुहुन्छ, मैले त्यसलाई मात्र टोकेकी छु ।’ आत्महत्यापूर्व यिनी आफ्नै घरमा कैदी थिइन । उनको खास नाम त लान पिंग थियो । च्यांग चिंग भन्ने नाम त माओत्सेतुङले राखेका थिए । सन् १९१४ जन्मिएकी यिनी सांघाईमा चर्चित कलाकार थिइन ।
सन् १९३८ मा संघाइमाथि जापानी सेनाले आक्रमण गरेपछि यिनको परिवार मध्य उत्तरी चीनतिर बसाईं सर्यो । त्यहीँ उनको परिचय माओत्सेतुङसंग भयो । त्यसबेला माओको प्रमुख मुकाम युनान प्रान्तमा थियो । त्यहीँबाट लान पिङले च्यांग चिंगको नाम धारण गरेर कम्युनिष्ट पार्टीमा सक्रिय भएकी हुन् । पार्टीको ऐतिहासिक लङ मार्चको पंक्तिमा सम्मिलितहरु नै वास्तविक क्रान्तिकारी ठहरिन्थे ।
त्यसबखत सांघाईकी यी ग्ल्यामरस अभिनेत्री साक्षात् मेनका नै मानिएकी थिइन । जति चाँडो माओसंग सम्बन्ध बढ्यो उति चाँडो यिनी गर्भवती भइन । यस घटनाले एउटा समस्या जन्मायो– माओकी पहिली पत्नीलाई के गर्ने ? माओ कान्छी पत्नीभन्दा २१ वर्ष कान्छी थिइन । तैपनि पार्टीले विवाहका निम्ति स्वीकृति दियो । तर तीन दशकसम्म च्यांगले राजनीतिबाट सन्यास लिनुपर्ने सर्त राखियो । माओले त्यो सर्त मञ्जुर गरे ।
सर्त प्रतिवद्धतामा सीमित रह्यो । च्यांगको राजनीतिक महत्वाकांक्षा विस्तारै सतहमा देखिन थाल्यो । आफूभन्दा धेरै अग्रज पति माओलाई नियन्त्रणमा लिने क्रम शुरु भयो । समयक्रमसंग माओको कान र आँखा बन्दै गइन । यो क्रम सन् १९६६ सम्म पुग्दा यिनी माओवादी चीनको ‘महान प्रोलितारियन क्रान्ति’की नायिका बनिन । चीनको कलाजगत उनको मुट्ठीमा थियो ।
एक घटिया कलाकार सत्ता हत्याएपछि राम्रा कलाकार र उत्कृष्ट कलाप्रति कति क्रुर विनासकारी हुनसक्छ भन्ने यस तथ्यको साक्षी छ– चीनको सांस्कृतिक क्रान्ति वर्ष । यसरी सम्पूर्ण राजनीतिक शक्ति यिनको हातमा आउन थाल्यो । माओको मृत्युपश्चात अध्यक्ष हुने सपना बुन्न थालिन ।
अध्यक्ष बन्ने सपना चकनाचुर भएपनि सत्ता सुख र शक्तिको प्रयोग यिनले भ्याए र सकेजति गरिन । भनिन्छ आफ्नो अन्तिम कवितामा माओले पत्नीलाई सजग गराउँदै भनेका थिए– ‘यदि तिमी हार्यौ भने तिम्रो शरीर र हाडखोर पनि टुक्रा टुक्रा हुनेछन् ।’
यो भविष्यवाणी सन् १९७६ मा माओको मृत्यु भएको एक महिनापछि सत्य प्रमाणित भयो । माओको उत्तराधिकारी भएको हुवाको फेंगले चियांग चिंगलाई गिरफ्तार गरी थुप्रै अभियोगसाथ मुद्दा चलाए । मुद्दामा उनलाई ३४ हजार मानिस मारेको सात लाख बढी मानिसलाई दण्ड दिएको आरोप लगाइयो ।
घमण्डी चियांग पनि आफ्नो जिद्दी स्वभाव देखाउन पछि परिनन । जब हुवाको फेंगले माओको अन्तिम वसियतनामामा आफूलाई उत्तराधिारी घोषणा गरिएको उल्लेख गरेथे, च्यांगले प्रत्युत्तरमा भनेकी थिइन– ‘यो पूरा वसियत होइन । माओले यो पछि पनि आफैं ६ वटा शब्द लेखेका थिए । तिमीलाई शंका लागेमा चियांगसंग सोध ।’
यो मुद्दाको अन्तिम फैसलामा जब चिंगलाई मृत्युदण्डको सजाय सुनाइयो, त्यसबेला शहरका मुख्य शहरमा मानिस भेला भएर नाच्न, रमाउन थाले । भलै, उनको बुढ्यौली शरीरलाई ध्यानमा राखेर सजायलाई कम गरी आजन्म कारावासमा झारियो । यसको एक दशकपछि उनी आफैंले आफूलाई मृत्यदण्डको घोषणा गर्दै घाँटीमा पासो लगाएर जीवनलीला समाप्त गरिन ।
यो घटनापछि एक अमेरिकी पत्रिकाले लेखेको थियो– ‘उनको मृत्युप्रति कसैलाई वास्ता छैन । चियांग चिंग आफ्नो उतारचढावपूर्ण जिन्दगीमा अभिनेत्री अप्सरा र त्यहाँबाट साम्राज्ञी समेत बनिन । तर मर्दा खलनायिकामा सीमित हुन पुगिन ।’