सरकारको स्वेच्छाचारीपन : कारण विना नै हिरासतमा
काठमाडौँ । नेपाल फाउण्डेशनका अध्यक्ष विकास कुमार ठाकुरलाई प्रहरीले विना कारण पक्राउ गरी ३ दिनसम्म हिरासतमा राखेको छ । दशैं मनाएर काठमाडौं फर्किँदै गर्दा २४ गते गते बेलुका काठमाडौं नजिक फर्पिङबाट उनी प्रहरीले नियन्त्रणमा लिएको हो । आफू पक्राउ परेकोबारे पटक–पटक जानकारी मागेपनि नदिएको उनको गुनासो छ ।
असोज २४ मा पक्राउ परेका ठाकुरलाई प्रहरीले असोज २६ मा रिहा गरेको थियो । ठाकुरले एक विज्ञप्ती जारी गर्दै आफूलाई पक्राउ गर्नुको कारण मागेका छन् भने संवैधानिक व्यवस्था जानकारीमा राख्न सरकारलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा उनले भनेका छन्– ‘नेपालको संविधानको धारा २० (१) ले नागरिकलाई न्याय सम्बन्धी हक प्रदान गर्दै भनेको छ कि कुनै पनि व्यक्तिलाई पक्राउ भएको कारणसहितको सूचना नदिई थुनामा राखिने छैन् । त्यसैगरी नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा ९ (१) अनुसार कुनै व्यक्तिलाई पक्राउ गर्दा त्यसको कारणबारे जानकारी दिनुपर्ने व्यवस्था छ । तर यो राज्यले केको आधारमा संविधानले मलाई प्रदान गरेको न्याय सम्बन्धी हक खोस्ने धृष्टता गर्यो ? संविधानको कुन धारालाई टेकेर तीन दिनसम्म मलाई स्वेच्छाचारी हिरासतमा राखियो ?’
उनले विज्ञप्तिमा भनेका छन् – ‘आजसम्म मैले देश विरुद्धमा कुनै अभिव्यक्ति दिएको छैन् । चाहे तो सामाजिक सञ्जाल होस वा कुनै सार्वजनिक मञ्च ।’ पक्राउ परेर भ्यानमा बसाउँदै गर्दा सोधपुछ गरेर राति नै रिहा गरिदिन्छौं भनिएको भएपनि तीन दिनसम्म मानसिक यातना दिएर हिरासतमा राखिएको उनले जनाएका छन् ।
साथै आफूलाई पक्राउ गर्नुको कारण, न्याय मरेको हो भन्ने प्रश्न गर्दैै राष्ट्रिय मानव अधिकार आयोग, अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराएका छन् ।