रवि लामिछानेको मुद्धामा आज सुनुवाइ हुँदै
हेटौँडा । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको आज सुनुवाइ हुँदैछ । उच्च अदालत हेटौंडामा न्यायाधीशद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा रविको मुद्दा पेशीमा छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका अभियुक्तमध्येका लामिछानेबाट ५ लाख र कँडेलबाट ३ लाख रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न भन्दै चितवन जिल्ला अदालतले भदौ ९ गते थुनछेक आदेश जारी गरेको थियो । तर, लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आदेश बेरितको रहेको भन्दै उक्त आदेश खारेज गरी साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गराइ पाउँ भन्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशमा भदौ १७ पुनरावलोकन रिट दायर गरेका थिए ।
उनीहरुले धरौटी माग गर्ने जिल्ला अदालतको आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्तहरु पनि खारेज गरिनुपर्ने मागदाबी गरेका छन् ।
लामिछाने र कँडेलले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलाशले उक्त मुद्दाको कैफियत फाइल मगाउन आदेश जारी गरेको थियो ।