राष्ट्रपति भण्डारी म्यानमारबाट जापान जाने
काठमाडौँ । म्यानमार भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकका लाग जापान जानुहुने भएको छ । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले कात्तिक ५ गते मङ्गलबार आयोजना हुने शुभराज्याभिषेकको विशेष समारोहमा भाग लिनुहुने भएको छ भने उक्त समारोहपछि सम्राट नारुहितोले आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनु हुने मन्त्रालये जनाएको छ । भ्रमणका अवधिमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द तथा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग भेटवार्ता गर्नु हुनेछ ।
राष्ट्रपति भण्डारीले जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनु हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीका साथ गृहमन्त्री रामबहादुर थापा, राष्ट्रपतिका कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्चस्तरीय अधिकारीहरु रहनु हुनेछ ।
राष्ट्रपति भण्डारी कात्तिक ६ गते बुधबार स्वदेश फर्कनु हुने कार्यक्रम तय भएको छ ।