उत्तरी सिरियामा युद्धविराम गर्न टर्की सहमत, सैन्य कारबाही स्थगित
एजेन्सी । उत्तरी सिरियामा युद्धविराम गर्न टर्की सहमत भएको छ । टर्कीको राजधानी अंकारामा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र टर्कीका राष्ट्रपति रेजेप तैयप एर्डोगानबीच छलफलपछि युद्धविरामको सहमति भएको हो । दुई नेताबीच उत्तरी सिरियामा कुर्द नेतृत्वको फौज पछाडि हट्न सक्नेगरी युद्धविराम गर्न टर्की सहमति बनेको हो ।
सहमतिपछि सैन्य कारवाही पाँच दिनका लागि रोकिएको छ । सो अवधिमा अमेरिकाले उत्तरी सिरियावाट कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउने बताइएको छ । सीमा क्षेत्रमा टर्कीले आफ्नो सुरक्षित क्षेत्र बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउने भएको हो । टर्कीका विदेशमन्त्री टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले कुर्द लडाकुले सीमा क्षेत्र छाडेपछि मात्रै सैन्य आक्रमण स्थायी रुपमा रोकिने जानकारी दिएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्विटमार्फत टर्कीले युद्धविराम गर्ने बताएका थिए । टर्कीका राष्ट्रपति एर्डोगानलाई पत्र लेख्दै उनले हिंसा रोक्न आग्रह समेत गरेका थिए । आक्रमण रोक्ने बताएसँगै राष्ट्रपति ट्रम्पले तीन दिनअघि टर्कीविरूद्ध लगाएका अमेरिकी प्रतिबन्धहरू हटाएका छन् ।