राजधानीमै भेटियो १ सय २२ किलो गाँजा
काठमाडाैँ – प्रदेश ३ को प्रस्तावित राजधानी हेटौडामा १ सय २२ किलो गाँजा प्रहरीले फेला पारेको छ। गत शुक्रबार विहान करिब ४ बजे मकवानपुरको राक्सिराङ गाउँपालिका–१ स्थित प्रकाश मोक्तानले आफ्नो घरमा गाँजा लुकाइराखेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त गाँजा फेला पारिएको हो।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले मोक्तानसहित गाँजालाई नियन्त्रणमा लिएको छ।
संयुक्त टोलीले करिब ३३ वर्षीय मोक्तानको घरमा चेक गर्दा ६ वटा बोरामा लुकाइराखेको लागुऔषध गाँजा फेला पारेको हो ।उनलाई गाँजासहित नियन्त्रणमा लिएरर जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याइएको छ । उनीविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मोक्तानलाई २ वर्ष देखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।