सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जना वेपत्ता

मस्कोः रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन् । घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ ।
गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ ।
खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन् ।
घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलीकोप्टर खानीमा पुगेका र वेपत्ताहरूको खोजी भइरहेको रूसी विपद् व्यवस्थापनमामिला हेर्ने मन्त्रालयले जानकारी गराएको छ । तर घटनास्थल निकै दूरदराजमा रहेकोले उद्धार प्रयास निकै कठिन भएको अधिकारीहरूले बताएका छन् । उक्त घटनामा परी घाइते बनेका १४ जनालाई अस्पताल पठाइएको र तीमध्ये दुईजनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।
रूसका हिमाली तथा पहाडी क्षेत्रमा गैरकानूनीरूपमा सञ्चालनमा रहेका खानीहरूमा आवश्यक सुरक्षामा ध्यान नपुर्याइँदा बर्षेनी सयौँ श्रमिकको अकालमा ज्यान जाने गरेको छ । एजेन्सी
रूस मृत्यु सुन खानी साइबेरिया क्षेत्र