विदेश

भारतको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको दाबी

भारतको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको दाबी

काठमाडौं - भारत प्रशासित जम्मू-काश्मीरको विशेष स्वायत्तता खारेज भएपछि अशान्त बनेको जम्मू-काश्मीर क्षेत्रमा भारत र पाकिस्तान सैन्य मुठभेडमा उत्रिएका छन्। 

भारतीय सेनाको आइतबारको जवाफी कारबाहीमा ५ पाकिस्तानी सेना मारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। भारतीय अंग्रेजी अखबार हिन्दूस्थान टाइम्सका अनुसार पाकिस्तान प्रसाशित काश्मीरको ताङधर क्षेत्रमा भारतीय सेनाले जवाफी कारबाही गरेको हो। 

भारत प्रशासित काश्मीरको कुपवारा जिल्लामा पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गरी २ भारतीय सैनिकको ज्यान लिएको बदलामा उक्त कारबाही भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

आइतबारै भएको घटनामा एक जना नागरिक मारिएका थिए भने ३ जना घाइते भएको बताइएको थियो। भारतीय अंग्रेजी अखबार टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तान प्रशासित काश्मीर क्षेत्रमा रहेका भनिएका आतंकवादी क्याम्पमा भारतीय सेनाले तोप प्रयोग गरेको छ। 

समाचार अनुसार पाकिस्तान प्रशासित काश्मीरको निलम भ्याली क्षेत्रमा रहेका ४ वटा प्याडमा भारतीय सेनाले जवाफी कारबाही गरेको थियो।

उक्त कारबाहीमा भएको क्षतिबारे भने त्यसमा उल्लेख गरिएको छैन। भारतीय सेनाका प्रवक्ताले युद्ध विराम उल्लघंन गरेर पाकिस्तानी सेनाले दुई भारतीय सेना र एक नागरिकको ज्यान लिएको बदलामा ताङधर क्षेत्रमा गरिएको जवाफी कारबाहीमा पाकिस्तालाई ठूलो क्षति पुगेको दाबी गरेका छन्। 

गत मंगलबार पनि पुन्च जिल्लामा एक २७ वर्षीया महिलाको मृत्यु भएको थियो।

गत अगष्टमा भारतले संविधानको धारा ३७० खोरज गर्दै जम्मू-काश्मीरको विशेष स्वायत्त खोसिएपछि त्यहाँको शान्तिको माहोल बिग्रिएको छ।

विशेष