News

अदालतमा महराले भने, ‘झुटो आरोपमा फसाउने षड्यन्त्र भयो’

अदालतमा महराले भने, ‘झुटो आरोपमा फसाउने षड्यन्त्र भयो’

काठमाडौंः जबर्जस्तीकरणी अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला सरकारी वकिलसमक्ष इन्कारी बयान दिएका छन् । पीडित भनिएकी महिलासँग पारिवारिक सम्बन्ध रहेको र उनको अभिभावक समान रहेकाले जबर्जस्तीकरणी कल्पना पनि गर्न नसक्ने भन्दै उनले इन्कारी बयान दिएका हुन् । महिलासँग आफ्नो पुरानो चिनजान भएको र घटना भएको दिन आफू घरभित्र प्रवेश नगरेको महराको भनाइ छ ।

घटना भएको दिन आफू महिला बसेको घर पर नै रहेर फोन गरेको, तर उनले रिसिभ नगरेपछि १५ मिनेटमै फर्किएको महराले बयान दिएका छन् । उनले केही विधेयकप्रति असन्तुष्टि जनाएकाहरूले नै आफूलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । महराले आफू महिलाको घर नै नगएकाले घटनास्थलमा भेटिएका रक्सी, जुत्ताको तलुवा र चस्मा आफ्नो नभएको दाबी गरेका छन् । कुटपिटका कुरा निराधार र कल्पनाभन्दा बाहिरको कुरा भएको बताए । चस्माबारे सोधिएको प्रश्नमा महराले लगाइरहेको चस्मा देखाउँदै भने, ‘मेरो चस्मा त यही हो लगाइरहेकै छु ।’ 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार महरासँग लिने बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ । सरकारी वकिलले महरासँग बयान लिने काम सकिए पनि अनुसन्धानका अन्य काम बाँकी रहेको भन्दै सात दिनको समय माग गरेको थियो । तर, अदालतले भने पाँच दिनको मात्रै म्याद थप गर्न अनुमति दियो । शनिबारबाट लागू हुने गरी पाँच दिनको म्याद थपको अनुमति दिएको अदालतको श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । महरालाई अनुसन्धान गर्न पहिलोपटक दिएको १३ दिनको समयावधि शनिबार सकिएको थियो ।

अदालतसमक्ष पीडितको आफ्नै जाहेरीविरूद्ध अर्को लिखित निवेदन

पीडित भनिएकी महिलाले प्रहरीसमक्ष दिएको किटानी जाहेरीविरूद्ध जिल्ला अदालतमै पुगेर लिखित निवेदन दिएकी छिन् । उनले सोधपुछका लागि भनेर बोलाएको प्रहरीले नौ घन्टासम्म बन्धक बनाएर शारीरिक र मनोवैज्ञानिक दबाब दिएर करणी प्रयास गरेको निवेदन दर्ता गराएको भन्दै आइतबार अदालतमा आफैं उपस्थित भएर लिखित निवेदन दिएकी छिन् । 

‘पीडितले नै हुलाकमार्फत आफूले पठाएको निवेदन प्रहरीले दर्ता गर्न नमानेको भन्दै लिखित निवेदन लिएर आज अदालतसमक्ष आएकी हुन् । इजलासले मिसिलमा राख्नु भन्ने आदेश दिएकाले राखिएको हो । त्यो निवेदन मान्ने नमान्ने भन्ने कुरा पछि अदालतले निर्णय गर्छ,’ अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने । आफू धेरै बोल्न नसक्ने भन्दै महिलाले आफ्ना अन्य उजुरी झुटो भएको भन्दै इजलाससमक्ष पेस गरेकी थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

कृष्णबहादुर महरा बयान षड्यन्त्र अदालत

विशेष