News

रौतहटमा बम विस्फोटः १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा

रौतहटमा बम विस्फोटः १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा

काठमाडौंः रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो । 

हाल अनुसन्धानमा खटिएका एकप्रहरी अधिकारीले त्यति बेला आरोपितमाथि ‘कल डिटेल रेकर्ड’ (सीडीआर) हेरेर अनुसन्धान नगरिएको बताए । त्यतिबेला प्रहरीले आरोप लागेका व्यक्तिमाथि प्राविधिक अनुसन्धान गरेको थिएन । घटनाको लगत्तैजसो नजिकैको इलाका प्रहरी कार्यालयका प्रमुखको सरुवा भएको थियो ।

‘बम विस्फोटमा परी घाइते भएका मानिसलाई जिउँदै इँटाभट्टामा हालेर मारेको जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धानमा प्रविधिको प्रयोग पनि गरेको देखिएन,’ अनुसन्धानको पछिल्लो प्रगति उल्लेख गर्दै प्रहरी स्रोतले भन्यो ।

मुख्य योजनाकार भनिएका आलमलाई रौतहट प्रहरीले घटनाको १२ वर्षपछि गत असोज २६ गते पक्राउ गरेको छ । सांसद आलममाथि अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले पीडितको बयान र तत्कालीन अवस्थाका सबुत प्रमाणसहित सुरुबाटै घटनाको अनुसन्धान थालेको हो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 

रौतहट बम विस्फोट मोहम्मद आफताब आलम मुचुल्का

विशेष