News

चीनद्वारा नेपाली सेनालाई करिब साढे २ अर्ब सहयोग

चीनद्वारा नेपाली सेनालाई करिब साढे २ अर्ब सहयोग

काठमाडौंः चीन सरकारले नेपाली सेनालाई एक सय ५० मिलियन युयान (करिब दुई अर्ब ४० करोड रुपैयाँ) सहयोग गरेको छ । नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा उक्त सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

उक्त सहयोग अन्तरर्गत चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्रीहरू उपलब्ध गराउने छ । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमणका क्रममा उक्त सहयोग नेपाली सेनालाई उपलब्ध गराउने प्रस्ताव गरेको रक्षा मन्त्रालयले जनाएको छ । यस सम्झौता अन्तर्गत मानवीय तथा विपद् व्यवस्थापका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटेकलमा समझदारी गरे बमोजिम आगामि तीन वर्षको अवधिमा नेपाललाई सहयोग हस्तान्तरण हुने उल्लेख छ ।

चीनले नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता स्वरुप यो रकम उपलब्ध गराएको हो । रक्षा मन्त्रालयका अनुसार गत वर्ष पनि चीनले नेपाललाई करिब २ अर्ब ४० लाख रुपैयाँ बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धि सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा त्यो कार्यान्वयनको चरणमा छ ।

उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व नेपालका उपप्रधान तथा रक्षामन्त्री पोखरेल र चीनका रक्षामन्त्री वेई बीच द्धि–पक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । पोखरेलले नेपाल र चीन बीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको उल्लेख गरेका थिए ।

पोखरेलले नेपाल र चीन बीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई हालै सम्पन्न चीनका राष्ट्रपति सीको नेपालको राजकीय भ्रमणबाट थप उचाईमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाली सेना चीन सहयोग

विशेष