साझा यातायातलाई विद्युतीय बस खरिद रोक्न सरकारको निर्देशन
काठमाडौँ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद प्रक्रिया रोक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक पत्र लेख्दै साझालाई विद्युतीय बस खरिदको प्रक्रिया केही समय अघि नबढाउन निर्देशन दिएको हो ।
सरकारले विद्युतीय बस खरिद गर्नका लागि गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको थियो । साझाले हाल बनाउँदै गरेको विद्युतीय बस खरिदको प्रकृयाको विषयलाई लिएर मन्त्रालयले बस खरिद प्रक्रिया रोकेको जनाएको छ ।
विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको थियो ।
बस खरिद प्रक्रिया रोकिए पछि साझालाई सरकारले दिएको ३ अर्ब रकम अब के हुने भन्ने अन्योल उत्पन्न भएको छ । एक वर्ष अगाडि नै सरकारले ३ सयवटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो । असारमा साझा यातायातलाई यसको जिम्मा मन्त्रीपरिषदले दिएको थियो ।