News

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति पुनको आग्रह

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आजदेखि शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उनले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले भने, ‘नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।’ 

बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै उनले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाए । कार्यक्रममा सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको लिखित सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले यस आयोजनाले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उल्लेख गरे । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले यो बिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउँदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको बताए ।  

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विज्ञान र प्रविधिको प्रयोगमार्फत सुशासन, विकास र समृद्धि दिएर सबै नेपालीको घरआँगनमा खुशी दिलाउन सरकार प्रयत्नशील रहेको बताए । नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले थप बजेट विनियोजन गर्न आग्रह गरे । 

समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।

नन्दबहादुर पुन ‘पासाङ’ युवा वैज्ञानिक

विशेष