News

बस दुर्घटनाका मृतक परिवारलाई घरमै पुगेर आर्थिक सहयोग

बस दुर्घटनाका मृतक परिवारलाई घरमै पुगेर आर्थिक सहयोग

मेलम्चीः इन्द्रावती गाउँपालिका–१० भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु भएको परिवारलाई घरमै पुगेर आर्थिक सहायता प्रदान गरिएको छ । असोज २४ मा भएको दुर्घटनाका मृतक परिवारलाई किरिया खर्चकालागि इन्द्रावती गाउँपालिकाले घरमै पुगेर जनही २५ हजार उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट किरिया खर्चकालागि रकम सहयोग गरिएको जानकारी दिए । उनले आवश्यक परे पछि पनि सहयोग गरिने जनाउँदै यो सहयोग तत्कालका लागि भएको बताए । 

मृतक परिवारलाई आर्थिक सहायता प्रदान गर्न अध्यक्ष बंशलालसँगै उपाध्यक्ष मिरा अधिकारी लामा, वडाअध्यक्ष जीवन थापामगरलगायत जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरु मृतक परिवारको घरमा पुगेका थिए ।

इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित ११ यात्रुको मृत्यु भएको थियो ।

उक्त बस दुर्घघटनामा मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

त्यस्तैगरी उक्त दुर्घटनामा इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास तामाङ र सुमित पुर्कोटीको मृत्यु भएको थियो ।

आर्थिक सहयोग बस दुर्घटना भोटसिपा

विशेष