News

४२ महिनामा सुरुङमार्ग बन्ने

४२ महिनामा सुरुङमार्ग बन्ने

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गर्नुभएको छ । शिलान्याससँगै सो सुरुङमार्गको निर्माण औपचारिक रूपमा सुरु भएको छ । प्रधानमन्त्री ओलीले शिलान्याससँगै नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । “फेरि एक कदम अगाडि विकास बढेको छ”, उहाँले भन्नुभयो ।

चन्द्रागिरि नगरपालिका, टोटेपाखामा आयोजित एक विशेष समारोहबीच प्रधानमन्त्री ओलीले सुरुङमार्ग शिलान्यास गर्नुभएको हो । कुल लम्बाइ दुई दशमलव सात किलोमिटर हुने सुरुङमार्गको निर्माण सम्झौता जापानको हाज्मा एन्डो कर्पोरेसनसँग असोज ६ गते सम्पन्न भइसकेको छ । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सुरुङमार्ग करसहित करिब १५ अर्ब २५ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको हो । सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।

सुरुङमार्गको प्रयोग नेपालमा पहिलो भएकाले यस प्रकारको विकासबाट मुलुकले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेँसी लगायतका सुरुङमार्ग निर्माणलाई समेत द्रुत गतिमा अगाडि बढाइने स्पष्ट पार्नुभयो ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।  

सुरुङमार्ग

विशेष