जापानी सम्राट नोरुहितोको गद्दी आरोहण आज, शुभकामना दिन राष्ट्रपति भण्डारी पनि सहभागी
जापानः जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोह मंगलबार इम्पेरियल प्यालेसमा हुँदैछ। नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो आइपुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोकियो पुगेकी थिइन् ।
राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी छन्।
स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म हुने समारोहमा सम्राट् नोरुहितो सेदेन–मात्सु–नो–मा (स्टेट रुम) मा आउनेछन् र उनको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन्। त्यसपछि राजा नोरुहितो सिंहासनमा बस्नेछन् र राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन्। साम्राज्ञी मासाको पनि स्टेट रुममा आउनेछन्र आफ्नो आसनमा बस्नेछन्।
समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा बाँडिएको कार्यक्रम पुस्तिकामा जनाइएको छ। समारोहमा सम्राट् नोरुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उल्लेख छ।
साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ। सन् १९६० फेब्रुअरी २३ मा जन्मनुभएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन भएपछि रिवा युग शुरु भएको मानिएको छ। आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उहाँ जापानका १२६ औँ सम्राट् भएका हुन्।
सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने उनी हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्छन्। उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गरेका थिए।
पूर्वी एशियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ। प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन्। तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य छ वर्षका लागि चुनिन्छन्। जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ।
जापानी भिक्षु एकाइ कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी मानिन्छन्। उनीसन् १८९९ मा नेपालको पोखरा, मुस्ताङ हुँदै तिब्बत अध्ययनका लागि गएका थिए। नेपाल जापान दौत्य सम्बन्ध सन् १९५६ मा भई नेपालमा सन् १९६८ मा जापानी राजदूतावास र सन् १९७८ मा जापानी सहयोग नियोग जाइका कार्यालय स्थापना भएको हो। नेपाल जापान संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक समूह र एशियाली विकास बैंकका सदस्य हुन्।
नेपालको प्रमुख दातृ राष्ट्र जापानले नेपाललाई सन् १९६९ देखि आर्थिक सामाजिक गतिविधिमा सहयोग गर्दै आएको छ। नेपालका प्रायः सबै आर्थिक क्षेत्रमा जापानी सहयोग चालु रहेको छ। सन् १९६९ र ७० मा क्रमश ऋण र अनुदान दिन थालेको जापानले १९७० देखि जापान ओभरसिज कोअपरेशन भोलुन्टियर्स पठाई प्राविधिक सहयोग दिन थालेको हो।
अफिसियल डेभलपमेण्ट एसिस्टेण्टमार्फत जापानले विगतमा नेपालमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, केही प्राथमिक विद्यालय, राष्ट्रिय क्षयरोग केन्द्र, कान्ति अस्पताल विस्तार, आयोडाइज्ड नुनको भण्डार, समुदायमा आधारित वैकल्पिक स्कूलिङ परियोजना, प्राथमिक विद्यालय व्यवस्थापन सुधार सहयोग, विद्यालय स्वास्थ्य तथा पोषण परियोजना, वागवानी केन्द्र विस्तार, तराई भूमिगत जल विकास परियोजना, जनकपुर कृषि विकास परियोजना, प्राकृतिक जल मत्स्य परियोजना, रेशमखेती प्रवद्र्धन, हिमालयन टी टेक्नोलोजी आउटरिच एण्ड एक्स्टेन्सन, खाद्य सहयोग, समुदाय विकास वन तथा जलाधार संरक्षण परियोजना, कृषि तालीम तथा विस्तार सुधार परियोजना, कुलेखानी जलविद्युत् परियोजना, कुलेखानी २ जलविद्युत् स्टेशन, कुलेखानी विपत्ति रोकावट परियोजना, उदयपुर सिमेण्ट कारखाना परियोजना, कालीगण्डकी ए जलविद्युत् परियोजना, काठमाडौँ उपत्यका पावर ट्रान्समिशन र वितरण प्रणाली सुधार र विकास, मेडियम वेभ रेडियो ब्रोडकाष्टिङ नेटवर्कको विस्तार र विकास, काठमाडौँका पुलहरुको पुनःनिर्माण, काठमाडौँ पानी आपूर्ति सुविधाको सुधार, जलउत्पन्न प्रकोप नियन्त्रण प्राविधिक केन्द्र, थापाथलीमा नयाँ वाग्मती पुल निर्माण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आधुनिकीकरण, बनेपा–सिन्धुली राजमार्ग पहिलो, दोस्रो र चौथो खण्ड, कावासोती सब स्टेशन निर्माण, काठमाडौँ भक्तपुर सडक सुधार परियोजना, सौर्य विद्युत्बाट क्लिन इनर्जी शुरुआत, फेवाताल वातावरण सचेतना र क्षमता अभिवृद्धिका काम गरिसकेको छ ।
हाल विद्यालय स्वास्थ्य पोषण परियोजना, लैङ्गिक मूलप्रवाहीकरण तथा सामाजिक समावेशिता, शान्तिपूर्ण तथा सद्भावपूर्ण समाजका लागि समुदाय योग अभिवृद्धि, मिडिया क्षेत्रको क्षमता विकासमार्फत शान्ति स्थापना र प्रजातान्त्रीकीकरण, निर्वाचन आयोगलाई सहयोग, अर्धशहरी क्षेत्रमा पानी आपूर्तिमा क्षमता विकास परियोजना, प्राथमिक विद्यालय व्यवस्थापनको सुधारमा सहयोग दोस्रो चरण, सिन्धुली सडकको सञ्चालन र मर्मत, बनेपा सिन्धुली निर्माण परियोजना (तेस्रो खण्ड), त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आधुनिकीकरण, ऋण सहायता, खाद्य सहयोग परियोजना, सुविधाविहीन कृषकका लागि खाद्य सुरक्षा परियोजना, वन संरक्षण कार्यक्रम, मेलम्ची पानी आपूर्ति परियोजना (वाटर ट्रिटमेण्ट प्लाण्ट), तनहुँ जलविद्युत् परियोजनालगायत परियोजना सञ्चालित छन्।
नोरुहितो गद्दी आरोहण