News

कुमार इन्काउन्टर प्रकरणः आइजिपी खनाललाई समेत कारबाही सिफारिस

कुमार इन्काउन्टर प्रकरणः आइजिपी खनाललाई समेत कारबाही सिफारिस

काठमाडौंः राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई ‘इन्काउन्टर’का नाममा प्रहरीले पक्राउ गरी हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगले पक्राउ गरी गोली प्रहारको निर्देशन दिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई समेत कारबाहीको सिफारिस गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्देशन दिनेलाई कानुनी कारबाही गरी गोली प्रहारमा संलग्न प्रहरीलाई थुनामा राखी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको हो । 

मुचुल्का र शव परीक्षणमा समेत त्रुटि 

‘इन्काउन्टर’ पछि घटनास्थलको मुचुल्काका लागि स्थानीय प्रहरी खटिएको थियो । घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्काको क्रममा समेत त्रुटि गरेको भन्दै आयोगले लालबन्दीका तत्कालीन इन्स्पेक्टर किरणकुमार न्यौपाने र सइ सूर्यकुमार कार्कीलाई विभागीय कारबाहीस्वरूप सचेत गराउन भनिएको छ । शव परीक्षणमा गल्ती गरेको भन्दै आयोगले जिल्ला अस्पताल सर्लाहीका तत्कालीन चिकित्सक डा. वीरेन्द्रकुमार यादवलाई समेत कारबाही गर्न सिफारिस गरिएको आयोगका सचिव भट्टराईले जनाएका छन् । शव परीक्षणमा न्यूनतम मापदण्डसमेत पूरा नगरेको आयोगले जनाएको छ । आयोगले देशभरिका अस्पतालमा क्यामेरा, पानी, बिजुली, एक्सरे मेसिन, शव सुरक्षामा आवश्यक रासायनिक पदार्थको व्यवस्था गर्न निर्देशन दिएको छ । साथै, शव परीक्षण गरिने प्रत्येक अस्पतालमा कम्तीमा एकजना प्राविधिक र तालिम प्राप्त फरेन्सिक विशेषज्ञको व्यवस्था गर्न भनिएको छ । 

नियन्त्रणमा लिएर नौ गोली हानी पौडेलको हत्या

स्थलगत छानबिन र सम्बन्धित व्यक्तिहरूसँगको बयानपछि आयोगले यस्तो निर्णय गरेको हो । छानबिनका क्रममा पौडेललाई नियन्त्रणमा लिएर नौ गोली हानी हत्या गरिएको आयोगले जनाएको छ । गोली प्रहारमा संलग्न इन्स्पेक्टर कृष्णदेवप्रसाद साह र हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई निलम्बन गरी फौजदारी मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । घटनामा दोहोरो मुठभेड नभएको र आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्थासमेत नरहेकोमा उनीहरूले पौडेललाई नियन्त्रणमा लिई नौ गोली हानेर हत्या गरेको आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले बताए । यो समामचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

राष्ट्रिय मानवअधिकार आयोग नेत्रविक्रम चन्द ‘विप्लव’ कुमार पौडेल सर्वेन्द्र खनाल

विशेष