News

विप्लव खोज्दै प्रहरी, कार्यकर्ता भने जनयुद्धका पुरानै ‘रुट’ प्रयोग गर्दै

विप्लव खोज्दै प्रहरी, कार्यकर्ता भने जनयुद्धका पुरानै ‘रुट’ प्रयोग गर्दै

काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ । प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्यूरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्यूरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । 

प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्ध प्रहरी कार्यकर्ता

विशेष