News

प्रधानमन्त्री ओलीको सामुन्ने बोल्न नदिँदा खनाल असन्तुष्ट

प्रधानमन्त्री ओलीको सामुन्ने बोल्न नदिँदा खनाल असन्तुष्ट

काठमाडौंः  सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । साढे ३ वर्षमा निर्माण सक्ने गरी सुरुङमार्गको सोमबार निर्माण शिलान्यास गरिएको हो ।

‘ऊर्जा, खानेपानी, सिँचाइका लागि हामीले नहर बनाएका थियौं,’ उनले भने, ‘राजमार्ग र बाटोका लागि सुरुङमार्ग बनाएका थिएनौं ।’ त्यही भएर यो सुरुङमार्ग निर्माण नयाँ प्रविधिको अर्को फड्को रहेको उनले बताए ।

‘नयाँ प्रविधिमा थप एक कदम अघि बढेका छौं,’ उनले भने । उनले कलंकी–नागढुंगा सडक अविलम्ब तयार पार्न निर्देशन दिएका छन् । नेपाल भ्रमण वर्षमा आउने पर्यटकलाई बाटोका कारण कुनै समस्या हुन नहुने उनको धारणा थियो ।

खनालको गुनासो

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि उपस्थित थिए । उक्त सुरुङमार्गको ०६७ साल माघ २७ गते खनाल नेतृत्वको मन्त्रिपरिषद्ले सम्भाव्यता अध्ययन निर्णय गरेको थियो । तर कार्यक्रममा बोलाइएका खनाललाई बोल्न दिइएन । कार्यक्रममा बोल्ने कुनै पनि वक्ताले उनी प्रधानमन्त्री हुँदा सम्भाव्यता अध्ययनका लागि स्विकृति दिइएको बारे उच्चारण गरेनन् । खनाल आफूले बोल्न पाउनेमा आशावादी देखिन्थे ।

तर अन्तिमसम्म आफूले बोल्न नपाएपछि निराश देखिए । कार्यक्रम सकिएलगत्तै आफू निकटस्थसँग असन्तुष्टिसमेत पोखेका छन्। ‘कार्यक्रममा बोलाए पनि आफूले गरेको कामको प्रसंग नै ननिकालिएको र बोल्न पनि नदिएको भन्दै,’ उनले असत्नुष्टि पोखेका हुन् ।

‘आफ्नै पार्टीको पूर्ववर्ती सरकारले गरेका कामहरूको विषयमा ओली सरकारले कहिल्यै पनि नबोलेको भन्दै,’ गुनासो गरेको उनीसँगै कार्यक्रममा सहभागी एक नेताले सुनाए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरुङमार्गको निर्माण ४२ महिनाअघि नै सकिने बताए ।

‘साँच्चिकै बनाउने हो भने ४२ महिना चाहिँदैन, बढीमा ३६ महिनाभित्र बनाएर दिन भनेका छौं,’ उनले भने, ‘यसमा निर्माण कम्पनी सकारात्मक छ।’ उनका अनुसार यही आर्थिक वर्षमा अन्य ७ वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ । चित्लाङ, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायत क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि डीपीआर तयारी अवस्थामा छन्।

उनले कोटेश्वर, नयाँबानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, त्रिपुरेश्वर, थापाथलीसहित ७ वटा ठाउँमा आधुनिक ओभरहेड ब्रिज, अन्डर पास र सुरुङमार्ग बनाउन निर्णय गरिएको बताए। आधुनिक ओभरहेड ब्रिज, अन्डर पास र सुरुङमार्ग बनाउन निर्णय गरिएको बताए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

सुरुङमार्ग केपी शर्मा ओली शिलान्यास झलनाथ खनाल असन्तुष्ट

विशेष