बडा दशैँको चौथो दिन आज कुष्माण्डा देवीका पूजा आराधना गरिँदै
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।
उल्लेखित नवदुर्गाका नौ रुपमध्ये आज बडा दशैंको चौथो दिन । आज दसैं घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथी देवी कुष्माण्डाको पूजा आराधना गरी मनाइँदै छ । कुष्माण्डा भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कूष्माण्डा रहन गएको शास्त्रहरुमा उल्लेख छ। कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।
शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डा देवीले आफ्नो शरीरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्नुभएको शास्त्रहरुमा उल्लेख छ । उष्ण र शीतललाई समभाव सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइन्छ ।
देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्जवलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।
कूष्माण्डा देवीको निवासस्थान सूर्यलोक हो। आठवटा हात भएकी देवीको स्वरूप सूर्यझैँ चम्किलो छ। कूष्माण्डा देवीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डलु र जपमाला छन्।
आफू तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डादेवीलाई सबैभन्दा मनपर्छ । कुष्माण्डा देवीको आराधनाले दुःखकष्ट, रोग, ब्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुने जनविश्वाश छ ।