कञ्चनपुरको महेन्द्रनगर बन्दै छन् यस्ता आधुनिक सडक
महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगर बजारको पाँचै ओटै गल्लीमा ठूलो लगानीमा नालीसहितका पक्की सडक निर्माण गरिने भएको छ । भीमदत्त नगरपालिकाले क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो ।
बजारका सबै गल्लीमा नाली सहितका सडक निर्माण प्रक्रिया सुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको छ ।
गुरु योजना बनाएर बसाइएको महेन्द्रनगरलाई व्यवस्थित र आधुनिक बनाउन भीमदत्त नगरपालिकालाई नगर प्रमुख सुुरेन्द्र विष्टले बजारमा नाली सहितका सडक बनाउन प्रक्रिया अघि बढाए ।
बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नाली सहित सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिए । ‘महेन्द्रनगर योजनाद्ध सहर हो, यो गुरु योजना अनुसार निर्माण गरिएको सहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय छ’ नगर प्रमुख विष्टले भने, ‘अहिले बजारका सबै गल्लीमा नाली सहितका सडक निर्माण कार्य प्रक्रिया सुरु गरिएको छ , यसले सहर थप सुन्दर र व्यवस्थित हुने आशा छ ।’
भीमदत्त नगरपालिकाको पहिलो नगर सभाबाटै नगर प्रमुख विष्टले महेन्द्रनगर बजारलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना सहर बनाउने नीतिग निर्णय गराएका थिए ।
बजारका सबै गल्लीमा नाली सहित सडक बनाउन एक अर्ब ७६ करोडको टेन्डर आह्वान गरिएको नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले बताए । ‘हामीले टेन्डर आह्वान गरिसकेका छौँ,’ इन्जिनियर ऐरले भने, ‘४५ दिने टेन्डरपछि काम अघि बढ्छ ।’
क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नाली सहित पक्की सडक निर्माण गरिने भएका छन् । त्यसमध्ये पहिलो चराणमा बजार क्षेत्रमा सडक निर्माण प्रक्रिया सुरु गरिएको हो । ‘पाँच ओटै गल्लीमा नाली सहित उच्च गुणस्तरीय सडक बनाउँछौँ,‘ इन्जिनियर ऐरले भने, ‘केही आसपासका क्षेत्रका सडक पनि बनाउँदैछौँ ।’
अहिले भएका सडक पूर्ण रूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले बताए । इन्जिनियर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्म सडक निर्माण हुन लागेका हुन् ।
बजारको फुटपाथ समेत हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ । ‘अहिले हामीले बनाएका सडकको स्तरभन्दा कैयौँ गुणा अब बन्ने सडक गुणस्तरीय हुने छन्,’ इन्जिनियर ऐरले भने ।
सडक निर्माण भएसँगै महेन्द्रनगर बजारको मुहारै परिर्वतन हुने बताइएको छ । पहिलो चरण अन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडक समेत निर्माण गरिने ईन्जिनियर ऐरले बताए ।
भारतको राजधानी दिल्लीदेखि नेपालको सबैभन्दा नजिकको सहर महेन्द्रनगर बजार हो । महेन्द्रनगरदेखि दिल्लीसम्म झण्डै तीन सय ५० किलोटिर दूरी छ । महेन्द्रनगर बजार चिटिक्क बनेसँगै भारतीय पर्यटकका लागि नेपाल थप पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
कञ्चनपुर महेन्द्रनगर पक्की सडक आधुनिक सडक