महिलालाई हुत्याउने डोजर चालक पक्राउ
बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा गाउँलेहरुबीच विवाद हुँदा महिलालाई पल्टाउने डोजर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार बोहरामाथि अनुसन्धान भइरहेको छ ।
सुण्नाखानदेखि पार्स सम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा सोमबार झडप भएको थियो। झडपका क्रममा डोजर चालकले स्थानीय गौरी जोशीलाई हुत्याएको भिडियो सार्वजनिक भएको थियो। जोशीको अहिले धनगढीमा उपचार भइरहेको उनका आफन्तले जानकारी दिएका छन्।
सडक रोक्ने र सडक लैजाने पक्षबीच विवाद हुँदा ८ जना घाइते भएका थिए। रोक्ने पक्षका गौरी जोशी र सुरेन्द्र प्रसाद जोशीको धनगढीमा उपचार भइरहेको छ। सडक निर्माण गर्नुपर्छ भन्ने पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएकोमा उनीहरु जिल्ला अस्पातलमा समान्य उपचारपछि घर फर्किएका छन्।
आफूहरुले सडक निर्माणका लागि सहमति गर्न खोजेपछि निर्माण पक्षले जबरजस्ती आफूहरुको जमीनमा डोजर चलाएको स्थानीय हंसराज जोशीले जानकारी दिए ।
बैतडी डोजर चालक