बैतडीकाे घटनालाई लिएर सञ्चारमन्त्री आक्राेशित, यस्ता जनप्रतिनिधि नथुनेर कसलाई थुन्ने ?
काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हिजो बैतडीमा भएको डोजर आक्रमणलाई लिएर आक्रोशित भएका छन्। उनले राजनीतिमा अपराधिकरण कहिल्यै स्वीकार्य हुन नसक्ने जिकिर गरे। नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्दै उनले गलत गर्ने ढिला चाँडो कानुनी कठघरमा आउने प्रष्ट पारे।
‘जनप्रतिनिधिबाट जनताको सुरक्षा पाउनुपर्ने हो। तर जनप्रतिनिधि नै अपराध गर्छ भने जनताले के सोच्ने ?’, मन्त्री बास्कोटाले प्रश्न गर्दै भने, ‘कसैले महिलालाई झम्टेको छ, कसैले गाउँलेलाई झम्टेको छ। यस्तालाई नथुने को थुन्ने। राजनीतिमा यस्तो हुन्छ ?’
बनेपामा आयोजित कार्यक्रममा बोल्दै उनले गलत गर्ने जनप्रतिनिधिलाई विधिअनुसार कारबाही हुने प्रष्ट पारे। ‘हामीले ल्याएको लोकतान्त्रिक विधिको शासन अनुसार कारबाही हुन्छ’, उनले भने, ‘हामी समुदायिक कामहरु गरौँ समुदाय सँगसँगै अघि बढाएर काम गरौँ। समुदायलाई मोबिलाइजेसन गरौँ।’