सेवा सुविधा बढाउने सहमतिसँगै आर्यघाटका कर्मचारीको आन्दोलन फिर्ता
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शवदाहमा संलग्न हुने घाट सेवा केन्द्रका कर्मचारीको सेवासुविधा वृद्धि गर्न सहमत भएको छ । सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेपछि कोषले वार्ता गरेको थियो ।
उनीहरुको आन्दोलनबाट शव दाहको कार्य नै रोकिने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । सहमतिअनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले एउटा शव जलाएवापत १५ सय र औषधि उपचार खर्च बापत १५ हजार पाउनेछन् ।
यसैगरी अवकाश पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । सहमतिपछि आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।