News

बजारमा नक्कली चुरोटको बिगबिगी !

बजारमा नक्कली चुरोटको बिगबिगी !

जनकपुरधाम– सूर्य नेपाल प्राइभेट लिमिटेडद्वारा उत्पादित खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको छ। नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको छ। तस्करले खुला सिमानाको फाइदा उठाएर नक्कली चुरोट बलेकिया (अवैद्य सामान ओसारपोसार गर्ने व्यक्ति) मार्फत सीमाक्षेत्रका बजारमा बिक्री गरिरहेका छन्।

नेपाली बजारलाई लक्ष्य गरी निर्माण गरिएका नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन। तर, चुरोट खाएपछि यसको गुणस्तर सजिलै फेला पार्न सकिने सूर्य नेपाल कम्पनी प्राइभेट लिमिटेडका बजार प्रवक्ता प्रकाश भण्डारीले बताए। ‘६ महिनादेखि नक्कली चुरोटको तस्करी भइरहेको छ’, भण्डारीले भने, ‘दुई तीन महिनाको अवधिमा मात्रै पाँच करोडभन्दा बढीको नक्कली चुरोट धनुषालगायत छिमेकी जिल्लामा बिक्री भएको छ।’

धनुषामा सबैभन्दा बढी नक्कली चुरोट भित्रिएको र दुई महिनाभित्र करिब डेढ करोडको कारोबार भएको भण्डारीले जानकारी गराए। ‘व्यापारीलाई सस्तो पर्ने तर, खुकुरी र शिखरकै मूल्यमा सर्वसाधारणलाई बेच्ने काम भइरहेको छ’, भण्डारीले भने, ‘सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि बलेकियालाई कार्बाही गरिएन भने हाम्रो व्यवसाय नै धराशयी हुन्छ।’

चुरोटको उत्पादन र बिक्रीबाट सरकारलाई सबैभन्दा बढी राजस्व जाने गर्छ। ६ महिनामा कम्पनीलाई नक्कली चुरोटका कारण ३० देखि ३५ करोडसम्मको नोक्सानी बेहोर्नुपरेको छ भने १५ करोडभन्दा बढी राजस्व गुमेको छ।

अन्य सामानको तस्करीमा १० प्रतिशतसम्म मात्र नाफा भए पनि चुरोटमा २५ देखि ३० प्रतिशतसम्म नाफा हुने गर्छ। सीमा नाकाबाट नक्कली चुरोट लिएर छिर्ने तस्करले प्रहरीसँग सेटिङ गरेकै कारण उनीहरूलाई कुनै कार्बाही नभएको कम्पनीका प्रतिनिधि बताउँछन्।

धनुषाको गोदारस्थित रुबी किराना पसल र सम्झना किराना पसलको गोदाममा छापामारी गरी खुकुरी र शिखर ब्रान्डका नक्कली चुरोट ठूलो परिमाणमा बरामद गरिएका छन्। आन्तरिक राजस्व कार्यालयका प्रतिनिधि र भन्सार कार्यालय जनकपुरको संयुक्त टोलीले बिहीबार दुवै किराना पसलमा छापा मार्दा दुई कार्टुन खुकुरी चुरोट र दश प्याकेट शिखर चुरोट बरामद गरेको थियो। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

जनकपुरधाम बिगबिगी नक्कली चुरोट

विशेष