मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३.८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्यवृद्धि उच्च छ। काठमाडौं उपत्यकामा ७.९०, तराईमा ५.६९ प्रतिशत, पहाडमा ५.०९ र हिमालमा ५.०२ प्रतिशत मुद्रास्फीति छ। २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २.९८ प्रतिशत, ३.६८ प्रतिशत, ५.० प्रतिशत र ३.३५ प्रतिशत मुद्रास्फीति थियो।
आजको नागरिक दैनिकमा प्रकाशित छ।