विद्या आउँदा सबै प्लेन डिले , केपी जाँदा बाहिर
काठमाडौँ । बुधबार र विहीबार त्रिभुवन विमानस्थलमा यात्रुले राम्रै झन्झट व्यहोरे । भिभिआईपीको कुनै पनि उडान हुने दिन भयो कि त्रिभुवन विमानस्थलमा यात्रुले सास्ती पाइहाल्छन् । यो नौलो तथ्य होइन । राजतन्त्र हुँदा राजा आवातजावतका क्रममा सडकमा अन्यले सवारी चलाउनै पाउँदैनथे ।
गणतन्त्रमा पनि जनताले सास्ती झेल्नुपरेकै छ । राष्ट्रपति विद्यादेवी भण्डारी जापानबाट बुधबार स्वदेश फर्कँदा यात्रु विमानमा चढ्न पाएनन् विमान डिले भए । कतिपय विमान ल्याण्ड भएका भएपनि यात्रु बाहिर निस्कन पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार अजरबैजान प्रस्थान गरे ।
उनी कतार एअरवेजबाट बाकु प्रस्थान गर्दा त्रिभुवन विमास्थलमा भने यात्रुले पाउनुसम्मको सास्ती पाए । यतिसम्मकी विमास्थलमा ल्याण्ड भएका प्लेनबाटसमेत यात्रुले एक घण्टासम्म बाहिर निस्कन पाएनन् । प्रधानमन्त्रीको उडान हुनुभन्दा अघि आन्तरिक उडानका बुद्ध एअर, यति एअर लगायतका विमानहरु त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । तर, अवतरण गरेका विमानहरुबाट यात्रुलाई ओर्लन नदिएर विमानभित्रै राखिएको थियो ।
‘विमान अवतरण भएपछि म एक घन्टा बुद्ध एअरको विमानभित्रै बसिरहें’– एक यात्रुले बताए । प्रधनमन्त्रीसहितको टोली उडेपछि मात्रै यात्रुहरु विमानबाट ओर्लन पाएका थिए । प्रधानमन्त्री, राष्ट्रपति जाँदा आउँदा यस्ता हर्कत बारम्बार हुने गरेका छन् ।
हालै एक सांसदले प्लेन डिले भएको कारण बुद्ध एअरको यात्रु कक्ष नै तोडफोड गरेका थिए । कतिपयले यो विमानस्थल व्यवस्थापन पक्षको दोष हो भनेको देखिन्छ भने कतिपयले भिभिआईपीप्रतिको सम्मान ।
प्रधानमन्त्रीका कारण एक घण्टा विमानभित्रै थुनिनुपरेको भन्दै आक्रोशित एक यात्रुले नेपाल आजसँग टेलिफोनमा भने– ‘ल्याण्ड भैसकेको प्लेनभित्र हामीलाई १ घण्टा राखियो । गणतन्त्रका जनताबाट असुरक्षित भए को बाट सुरक्षित ? सामन्ती सोच नभए यस्तो सास्ती दिन्छन् ?’