१० बजेपछि देउसी र भैलो खेल्न प्रशासनद्वारा रोक
काठमाडौँ — सरकारले राति १० बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको छ । देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीरभैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएका हुन् । जिल्ला प्रशासन कार्यालयहरुले माथिको निर्देशन भन्दै राति १० बजेभन्दा पछाडि देउसी भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।
रातको समयमा देउसी भैलोका नाउँमा उच्छृङ्खल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्र मात्र देउसी खेल्न आग्रह गरिएको छ।
मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएको छ। प्रशासनको आग्रह विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रजिअ आचार्यको भनाइ छ । रासस
स्थानीय प्रशासनको आदेश अटेर गरेको पाइए शान्तिसुरक्षा व्यवस्थापनमा खलल पुर्याएको अभियोगमा कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ । देउसीरभैलोलगायतका कार्यक्रममा अरुलाई नकारात्मक असर पुग्नेगरी कुनैपनि गतिविधि नगर्नसमेत स्थानीय प्रशासनले सचेत गराएको छ ।
सार्वजनिक आवागमनलाई अवरोध पुग्नेगरी समेत कुनैपनि कार्यक्रम नगर्न स्थानीय प्रशासन कार्यालयहरुले कार्यक्रम आयोजकलाई निर्देशन दिएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रातको समयमा देउसीरभैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न नपाइने गरी जिल्ला सुरक्षा समिति बैठकले निर्णय गरेको जानकारी दिए ।
‘सार्वजनिक शान्तिसुव्यवस्थालाई खलल पुग्ने गरी चाडपर्व लगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि नगर्न जिल्ला सुरक्षा समिति काठमाडौंले निर्णय गरेको छ,’ प्रजिअ दाहालले भने, ‘सांस्कृतिक पर्वलाई व्यवस्थित र अनुशासित बनाउनका लागि राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसीरभैलो तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न भनेका हौं ।’ प्रशासनको निर्णय अटेर गरिए कार्यक्रम आयोजना गर्नेलाई नियन्त्रणमा लिएर शान्तिसुरक्षामा खलल पुर्याएको आरोपमा कारबाही गरिने उनले चेतावनी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्व मर्यादित र व्यवस्थित रुपमा मनाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरिएको बताए । ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छौं,’ एसएसपी सुवेदीले भने, ‘कसैले देउसीरभैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको आबरणमा कुनैपनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथी पनि कडा कारबाही हुने छ ।’