News

प्रचण्डले आफू र प्रधानमन्त्री ओलीलाई दिए मुर्खको संज्ञा 

प्रचण्डले आफू र प्रधानमन्त्री ओलीलाई दिए मुर्खको संज्ञा 

विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  आफू र प्रधानमन्त्री केपी ओलीलाई मुर्खको संज्ञा दिएका छन्।

उनले दुई पार्टीबीचको एकता क्षणिक स्वार्थका लागि नगरिएको समेत स्पष्ट पारे। शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले भने,‘ क्षणिक स्वार्थ वा कुनै व्यक्तिको आकांक्षा पुरा गर्न नभइ मुलुकको हितका निम्ती नै पार्टी एकता गरिएको हो।’

उनले पार्टी एकता हुन्छ भन्ने नै धेरैले पहिला नपत्याएको भन्दै आफु र केपी ओली मुर्ख भएर हाम्फालेपछि मात्रै सम्भव भएको पनि स्मरण गरे । ‘दुइजना मुर्ख कमाण्डर मिल्यौँ । दुईजना मुर्खले हामफाल्दियौ । त्यसलाई सबैले मानिदिए । एउटा मुर्ख केपी ओली एउटा मुर्ख म । हामीले दायाँबायाँ नसोचेर यो नै राष्ट्रवादको आवाश्यक्ता हो भनेर हामफालियो । एकता भयो,’ प्रचण्डको भनाइ छ । उनले केपी ओली, प्रचण्ड र ईश्वर पोखरेल के हुन् भन्ने कार्यकर्ताले बुझ्नुपर्ने पनि बताए । उनले नयाँ प्रकृयाबाट कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने आकांक्षामा आफुहरु रहेको भन्दै समाजवादको आधार निर्माण गर्ने सबैको साझा लक्ष्य भएको बताए ।

‘समाजवादउन्मुख राज्य व्यवस्था भनेर संविधानमा पनि लेखिएको छ र हाम्रो पार्टीले पनि समृद्ध नेपाल र सुखी नेपाली भनेर सरकारले समेत समाजवादको आधार निर्माण गर्ने नै कुरा गरेको हो । चीन भारतसँगको सम्बन्धको कुरा गर्दा पनि हामीले त्यही गरेको हो,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र त्यसअवसरमा भएका सहमतिका साथै सीले नेपाल भुपरिपष्ठित देशबाट अव भुजडित रहन्छ भनेर घोषणा गर्नु नेपालीलाई गर्वको कुरा भएको बताए । ‘यो हाम्रो पिढीलाई मात्रै नभएर अरु आउने धेरै पिढीलाई पनि ठूलो गर्वको कुरा हुन्छ ।’ उनले पार्टीका दश लाख सदस्यले एउटै दृढ संकल्प गरेमात्रै पार्टी एकताको रक्षा गरेर मात्रै विकासको शिखर चुम्न सकिने बताए । ‘संकल्पगत एकता नै आजको आवाश्यक्ता हो । पार्टी एकता गरेर मात्रै राष्ट्रलाई बलियो पार्न सक्छौ ’ उनले विरोधीहरुले नेताहरुलाई लडाउन र फुटाउन हजार दाउ लगाइरहेको भन्दै त्यसरी पार्टीलाई कमजोर बनाउन खोज्नु उनीहरुको धर्म नै भएको बताए ।

विशेष