News

यी ४ मेयर हुन्, जो आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्चिँदै छन्

यी ४ मेयर हुन्, जो आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्चिँदै छन्

विराटनगरः स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी भएको भन्दै चर्चा हुने गरेको छ तर केही जनप्रतिनिधिले पाएको सुविधा सामाजिक कार्यमा खर्च गरिरहेको भने ओझेलमा परेको छ ।

आफूले पाउने सुविधाको रकमरपारिश्रमिक सामाजिक कार्यमा खर्च गरिरहेका मोरङको चार नगरप्रमुखको उदाहरणीय कार्य भने ओझेलमा छ । उनीहरू हुन्, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई र उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो ।

स्थानीय तहका जनप्रतिनिधिले उपभोग गर्न पाउने सुविधाका सम्बन्धमा प्रदेश सरकारले कानुन बनाएर लागू गरेको छ तर यी चार नगरप्रमुखले भने सार्वजनिक घोषणा गरेरै सामाजिक कार्यमा खर्चिदै आएका छन् 

भीम पराजुली, विराटनगर

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक वर्षको अवधिमा प्राप्त हुने आफ्नो सेवा सुविधाबापतको रकमबाट एउटा सामुदायिक विद्यालय सुधारका लागि खर्च गर्ने योजना बनाएका छन् । हालसम्म दुईवटा विद्यालयमा लगानी गरेको उनले बताए । 

पहिलो वर्षको आम्दानी विराटनगर–१ को सयपत्री आधारभूत विद्यालयमा खर्च गरेका थिए । उक्त रकम विद्यालयको कम्पाउन्ड वाल निर्माण, चौरमा माटो पुर्ने, चुहिने छानो फेर्ने र फलामे गेट लगाउने काम भयो ।

दोस्रो वर्षको रकमबाट जागृति आधारभूत विद्यालयमा रङ्गरोगन गर्ने काम भइरहेको छ, प्रमुख पराजुलीले भने । प्रमुख पराजुलीले दुई वर्षमा १२ लाख आठ हजार ९९२ रुपैयाँ आम्दानी भएको र १२ लाख ३७ हजार २२२ रुपियाँ खर्च गरेको पनि बताए । उनले लक्ष्मीनारायण गुरुकुल संस्कृत विद्यालयलाई एक लाख ११ हजार १११ रुपियाँ, धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । 
 

दिलीप बगडिया, रङ्गेली

रङ्गेली नगरपालिकाकाका प्रमुख दिलीप बगडियाले नगरपालिकाबाट प्राप्त भएको २८ महिनादेखिको सुविधाबापतको रकम छुट्टै बैङ्क खाता खोलेर राखेका छन् । त्यही रकम खर्च गरेर रङ्गेली नगरपालिकालाई वाईफाई फ्री बनाउने योजनामा काम भइरहेको उनले जानकारी दिए ।

मैले नगरपालिकाबाट प्राप्त गर्ने सबै रकम छुट्टै बैङ्क खाता खोलेर जम्मा गर्दै आएको छु र अहिलेसम्म एउटा पनि चेक काटेको छैन, अहिले नगरभरि फ्री वाईफाई सेवाका लागि पूर्वाधारको काम भइरहेको छ, त्यसका लागि हुने सबै खर्च सोही रकमबाट बेहोर्छु, प्रमुख
बगडियाले भने । 

नगरपालिकाको नौवटा वडाका १२९ स्थानमा वाईफाई फ्री जोन बनाउने योजनाअनुसार अहिले तार र राउटर राख्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार कात्तिक मसान्तसम्म नगरपालिका पूर्ण रूपमा वाईफाई फ्री नगर बन्ने छ । उनले थप स्पष्ट पारे, अहिलेसम्मको आम्दानीबाट तार, राउटरलगायत आवश्यक पूर्वाधारमा खर्च गर्न पुग्छ होला । त्यसपछिको आम्दानीबाट वार्षिक शुल्क भुक्तानी गर्छु । वाईफाईका लागि सरकारको कुनै रकम खर्च हुन दिन्नँ ।
उनले विभिन्न बैठक, सेमिनार आदिमा सहभागिता जनाउँदा प्राप्त भएको भत्ता रकम पनि सोही खातामा जम्मा गर्दै आएका छन् ।

पारदर्शी र मितव्ययी प्रशासन सञ्चालन गर्दै आएका बगडियाले नगरपालिकाको प्रमुख भएपछि दुईपटक शल्यक्रिया गराइसकेका छन् ।  भारतको दिल्लीमा भएको आन्द्रा र हर्नियाको शल्यक्रियामा उनले नगरपालिकाबाट स्वास्थ्य उपचारका लागि कुनै सुविधा नलिएको बताइएको छ ।

 शंकर राई, लेटाङ

आफ्नो सेवासुविधाबाट जनताको उपचारमा खर्च गर्नेमा लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई अग्रस्थानमा छन् । उनले विराटनगरमा उपचार गर्न खर्च जुटाउन नसकेका आफ्नो नगरका बिरामीको रकम तिर्नमा आफ्नो आम्दानी खर्च गरिरहेको बताएका छन् । 

मैले विराट नर्सिङ होममा मात्र तीन लाख रुपैयाँभन्दा बढी रकम तिरिसकेको छु, उपचार गराउन जान्छन् खर्च धेरै हुन्छ । मेरो नाममा लेखाएर हिँडिदिन्छन्, तिर्नैपर्छ, तिरिरहेको छु, राईले भने । यसबाहेक विद्यालय, मन्दिर र अन्य सामाजिक विकासको काममा सुविधाबापतको रकम खर्च गर्ने गरेको उनले बताए । 

खड्ग फागो, उर्लाबारी

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले स्थानीय बक्राह खोलाका बाँध निर्माण गर्न स्थानीयले लागत साझेदारी गर्न नसकेपछि आफ्नै तर्फबाट आठ लाख ५० हजार रुपैयाँ लगानी गरिदिए । उनले लागत साझेदारी जुटाउन नसक्ने उपभोक्तालाई सेवा सुविधाबाट प्राप्त भएको रकमबाट दिने गरेका छन् ।

प्रमुख फागोले भने, ‘अलिअलि त व्यक्तिगत काममा पनि चलाइयो होला तर धेरै रकम उपभोक्ताले लागत साझेदारी जुटाउन नसकेकाहरूलाई रकम दिएर विकासको काम अगाडि बढाउन सहयोग गर्दै आएको छु ।’ उनले असहायहरूको शिक्षा र स्वास्थ्य उपचारमा पनि केही रकम खर्च गरेको जानकारी दिए । याे समाचार आजको गाेरखापत्र दैनिकबाट लिइएकाे हाे ।

जनप्रतिनिधि व्यक्तिगत सुविधा सामाजिक कार्य

विशेष