News

वर्ल्डलिंकमा भित्रियो विदेशी लगानी

वर्ल्डलिंकमा भित्रियो विदेशी लगानी

काठमाडौंः निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपैयाँ विदेशी लगानी भित्र्याएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले विदेशी लगानी ल्याएको हो । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दुवै पक्षले लगानी कार्यान्वयनको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा सीडीसी यूकेका प्रबन्ध निर्देशक र एसिया प्रमुख श्रीनि नागाराजनले स्वपुँजीका रूपमा कम्पनीमा लगानी गरिएको जानकारी दिए । उनका अनुसार यो लगानीमार्फत नेपालको खासगरी ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तारमा सहयोग पुग्ने छ । निजी क्षेत्रको इन्टनरेट सेवा प्रदायकमा विदेशी लगानी भित्रिएको यो नेपालमै पहिलोपटक हो ।

वर्ल्डलिंकमा सीडीसी यूकेको करिब १० प्रतिशत स्वामित्व रहने गरी लगानी भित्र्याएको कम्पनीका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । बेलायती सरकारको लगानी भित्रिएसँगै कम्पनीलाई अन्तर्राष्ट्रियस्तरको कम्पनीका रूपमा स्थापित गर्न सफल हुने उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

विदेशी लगानी वर्ल्डलिंक कम्युनिकेसन्स

विशेष