यस्तो छ महरामाथि अन्तर्राष्ट्रिय सञ्चार माध्यमको 'कभरेज'
संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि नेपालको राजनीतिमा एकाएक हलचल ल्यायो। जसका कारणले सभामुखको पदबाट महराले राजीनामा दिन बाध्य भए।
महराले राजीनामा दिएको केही घण्टा बित्न नपाउँदै रोशनीले आफ्नो बयान फेरेर फेरि अर्को तरंग ल्याइन्। उनले बयान फेर्दै मंगलबार साँझ महरा आफ्नो बुवासमान भएको भन्दै बुवा-छोरीको सम्बन्धलाई ‘बलात्कार’सँग जोडेर प्रचार नगर्न भिडियो अन्तरवार्तामार्फत पत्रकारलाई आग्रह गरिन्।
यसअघि उनले भिडियो अन्तर्वार्तामार्फत नै सभामुख महराले आफूलाई यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएकी थिइन्। पछिल्लो भिडियोमा अघिल्लो अन्तर्वार्ताको खण्डन गर्दै महरा र आफूबीच बाबु छोरीको सम्बन्ध रहेको भन्दै बचाउ गर्दै गलत प्रचार नगर्न भनिनन्। उनको यो भनाइ महराले सभामुखको पदबाट राजीनामा दिएको केही घण्टापछि आएको हो।
यता, सभामुखको पदबाट राजीनामा दिएपछि अन्तर्राष्ट्रिय मिडिया पनि महरामय भएका छन्। प्रायः विश्वका चर्चित मिडियाहरूले महराको विषयलाई प्रमुखताका साथ छापेका छन्। द न्युयोर्क टाइम्सदेखि भारतीय संचार माध्यम द हिन्दूसम्मले आफ्नो अनलाइन संस्करणमा प्रमुखताका साथ यौन दुर्व्यवहारको आरोपपछि महराले सभामुखको पदबाट राजीनामा दिएको विषयलाई लेखेका छन्।
प्रायः सबै संचार माध्यमले यौन दुर्व्यवहारको आरोपपछि सभामुखको पदबाट महराको राजीनामा भन्ने शीर्षकमा समाचार लेखेका छन्। न्युयोर्क टाइम्सले भर्खरै : नेपालका प्रतिनिधिसभाका सभामुखको राजीनामा शीर्षक दिएर समाचार लेखेको छ।
त्यस्तै, वासिंटन पोस्टले पनि बलात्कारको आरोपपछि नेपालका सभामुखको राजीनामा शीर्षकमा समाचार प्रकाशन गरेको छ। सरकार महिला कर्मचारी आफ्नै घरमा आएर आफूमाथि बलात्कारको आरोप लगाएपछि सत्तारुढ दलका नेता तथा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएको भन्दै समाचार छापेको छ।
त्यस्तै, भारतीय सञ्चार माध्यम द हिन्दु, इन्डिया टुडे लगायतले पनि यस्तै प्रकारको सचारहरू छापेका छ भने कतारी सञ्चार माध्यम अलजजिराले पनि यो विषयलाई प्राथमिकताका साथ छापेको छ।